arrow

अव्यवस्थित पिपल्ला बसपार्कले समस्या

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
doti.png

दिपाय । जिल्लाको दिपायलस्थित पिपल्लामा रहेको एकमात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या देखिएको छ ।

विसं २०६० जेठ ९ गते भाडामा जमीन लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दिपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घ संस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन ।

ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन । फोहरै फोहरले भरिएको शौचालय र त्यहाँ जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताए । उनले भने, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।”

बसपार्क वरिपरिको ढल निकास कार्यसमेत व्यवस्थित छैन । ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्किङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए। बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ ।

बसपार्क अव्यवस्थित हुँदा वर्षाको मौसममा सामान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ । गाडीचालक चक्र भण्डारीले भने, “बसपार्क सञ्चालकले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” “बसपार्क सञ्चालकले सडकमा गुड्ने गाडीबाट पनि शुल्क असुल्ने गरेको छ”, उनले भने, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क लिनु गैरकानूनी हो ।”

दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भएता पनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ