डोटी । जिल्ला कारागार डोटी जीर्ण भई चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए। “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उनले भने, “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौँ, बजेट आएको छैन, आएपछि मर्मत हुन्छ ।” जेल प्रशासनले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका छन् ।
डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दी बताउँछन् । उनीहरु भन्छन्, “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दी बताउँछन् ।
आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मतसम्भारको कार्य हुन नसकेको कारागार प्रमुख राजन केसीले बताए। “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उनले भने, “फर्समा पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको त्यहाँका कर्मचारी बताउँछन् । डोटी कारागारमा ४३ पुरुष र चार महिला गरी कूल ४७ कैदीबन्दी रहेका छन् ।
पच्चीस कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा बढी कैदीबन्दी राखिँदा झन समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयको प्रयोगमा समेत समस्या आएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कारागारमा सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग छ ।