समयमा किन हुन सकेन नेविसंघको चुनाव ? यस्तो भन्छन् नीलकण्ठ
प्रकाशित २०७५ फागुन २१ मंगलबार
293
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको महाधिवेशनको मिछि समेत अझै अन्योलमा छ । माउ पार्टी आफ्नो गुटगत स्वार्थमा लिप्त छ भने विद्यार्थीहरुमा निराशा छाउन थालेको छ । यसले गर्दा कुनै समय पञ्चायती शक्तिलाई घुँडा टेकाउने सामथ्र्य भएको नेपाल विद्यार्थी संघको शक्ति कमजोर बन्दै गएको छ । आजको दिनमा अधिनायकवाद तर्फ उन्मुख कम्युनिष्ट सत्ता विरुद्ध लड्नु पर्ने विद्यार्थीहरु महाधिवेशनको नाममा आफू भित्रै कुटाकुट गरेर समय विताईरहेका छौं । यो विडम्बनाको कुरा हो ।
पार्टी नेतृत्व आफ्नो गुटको शक्ति बढाउने खेलमा लाग्दा पार्टीकै शक्ति स्खलित भईरहेको छ । यसको मूल कारण हो नेपाल विद्यार्थी संघमाथि चलेको राजनीति । नियमित रुपमा चुनाव हुन्थ्यो भने ६ महिना अघि नै हुनु पर्ने महाधिवेशनलाई आज भोलि भन्दै माघसम्म धकेल्दै गईयो । ६ महिना पुगेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिनुभयो । अहिले नेविसंघ टुहुरो भएको छ । ३ महिनासम्म समय थप गरेको भए हामी त्यो समयसम्म त चुनाव गराउनै सफल हुने थियौं । तर विडम्बना नेतृत्वले त्यो मानेन अध्यक्षले राजीनामा दिनुभयो । अब त्यो ३ महिनासम्म त तदर्थ समिति गठन नै पनि हुननसक्ने हो कि ? भन्ने चिन्ता बढ्न थालेको छ ।
पुरानो नेतृत्वले दुई वर्ष भित्रै किन गर्न सकेन अधिवेशन ?
पुरानो नेतृत्वले आफ्नो कार्यकाल सम्पन्न हुनु अघि नै सबै जिल्लामा अधिवेशन गराईसक्नु पर्ने थियो । तर, देशको राजनीतिक परिस्थितिका कारण पनि त्यो नेतृत्वले आफ्नो तोकिएको समयभित्र चुनाव गराउन सकेन । सोही कालखण्डमा मुलुकमा तीनै चरणको निर्वाचन भयो । पार्टीका युवाशक्तिहरु माउ पार्टीलाई जिताउनको लागि सक्रिय हुन थाले । यही नेतृत्वको समयमा स्ववियूको निर्वाचन भयो । त्यसमा पनि सबै मिलेर निर्वाचनमा होमिनु पर्ने थियो । यी र यस्तैकारणहरुले गर्दा हामीले तोकिएको समयमा सोचे जति जिल्लाहरुमा अधिवेशन गराउन सकेनौं ।
हामीले केही महिना अघि मात्रै पनि ४० जिल्लामा अधिवेशनको लागि कार्यतालिका समेत पेश गरिसकेका थियौं । हामीले पार्टीलाई ३ महिनाको समय मागेका थियौं । तर, सोही बेलामा समय सकियो । पछि पार्टीको दबाब आएपछि अध्यक्षले राजीनामा दिनु भयो । यसले झनै अब कहिले तदर्थ समिति गठन हुने र कहिले यसले चुनाव गराउने भन्ने अन्योल सुरु भएको छ ।
२ वर्षको कार्यकालमा संगठन भित्र केही आन्तरिक द्वन्द्व पनि नदेखिएको होईन । सोही द्वन्द्वको कारणले पनि कतिपय ठाउँमा हामीले चाहेर पनि अधिवेशन गराउन सकेनौं । तर, अहिले हाम्रो माग यत्ति मात्रै हो कि जतिसक्दो चाँडो नेपाल विद्यार्थी संघको चुनाव हुनुपर्छ । यदि अब पनि हामी नेविसंघको अधिवेशन गराउन तर्फ उदासिन नै बनिरह्यौं भने यसले नेविसंघ मात्रै होईन समग्र विद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउँन सक्छ । अन्ततः यसले विद्यार्थी आन्दोलन नै स्खलित हुन पुग्छ । अहिलेको अवस्थाले पक्कै पनि नेपाल विद्यार्थी संघको सांगठनिक अवस्थालाई राम्रो बनाएको छैन ।
केही दिन अघि हामीले पार्टी कार्यालय अघि जुन चरित्र देख्यौं त्यो मेरो विचारमा अतिवादी चरित्र हो । त्यो अतिवादी चरित्रले हामी कसैलाई पनि गन्तव्यमा पु¥याउँदैन । त्यसले न त पार्टीलाई फाईदा पु¥याउँछ । न त संगठनलाई नै । बरु त्यस्तो अतिवादी चरित्रका कारण संगठन नै कमजोर हुन पुग्दछ । संगठन भनेको एउटा परिवार हो । तर , हामीले परिवारलाई नै दुस्मनको जस्तो व्यवहार गर्नु हुँदैन । हाम्रो यो परिवारका सदस्यको बीचमा हार्दिकता र आत्मीयता घट्दै गएको छ । यो दुखद् पक्ष हो ।
शक्तिशाली संगठन निर्माणको लागि संगठनभित्रका सदस्यहरुबीच एकता हुनुपर्छ । त्यो एकताको लागि नेतृत्व क्षमतावान र योग्य बन्नुपर्छ । ताकि उसले समयमा नै सबैलाई समेटेर नेविसंघको केन्द्रीय महाधिवेशन गर्न सकोस् । सोही नेतृत्व अहिलेको आवश्यकता हो ।
उमेरहदको सवाल
अहिले उमेर हदको कुरा पनि चर्चामा छ । तर मेरो विचारमा विद्यार्थी राजनीति र राजनीतिमा समेत उमेरको हद हुनुहुँदैन । भन्ने मेरो तर्क हो । अहिले तदर्थ समितिमा पनि उमेरहद राख्न माग भईरहेको छ । तर पार्टीले नै उमेर हदको व्यवस्था गरेको हामी पार्टीका इमान्दार कार्यकर्ता भएको नाताले उमेरहदलाई मान्छौं र मान्नै पर्छ । तर, उमेरहदको विषयलाई लिएर महाधिवेशन गर्नमा ढिलाई भने गर्नु हुँदैन ।