काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ५६ जिल्लाका सभापतिहरु रुष्ट बनेका छन् । महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोषित बनेका हुन् ।
कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाएका थिए ।
महासमिति भन्दा ठुलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णत:उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण रहेको सभापतिहरुले बताएका छन् ।
जिल्ला सभापतिहरुल्वारा जारी विज्ञप्तीमा भनिएको छ,'उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ ।'