हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा, संयुक्त श्रद्धाञ्जली
राष्ट्रपतिदेखि सर्वसाधारणसम्म पुग्दैछन् टुँडिखेल, ११ बजे शव आफन्तलाई बुझाइने, मन्त्री अधिकारीको शव पोखरा लगिने
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
391
Shares
काठमाडौँ । बुधबार दिउँसो ताप्लेजुङमा भएको डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिनका लागि शुक्रबार बिहान राजधानीको टुँडिखेलमा पार्थिक शरीर राखिँदैछ ।
बिहान ८ बजेदेखि तीन घण्टासम्म चल्ने श्रद्धाञ्जलीका लािग राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सर्वसाधारण पुग्ने जानकारी दिइएको छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्च पदस्थ अधिकारी लगायत व्यक्ति पुग्नेछन् ।
विभिन्न दलका शीर्ष नेताहरु समेत श्रद्धाञ्जली दिन टुँडिखेल पुग्नेछन् । त्यस्तै विभिन्न क्षेत्रका व्यक्तिहरु दुर्घटनामा परेकाले सबै क्षेत्रका व्यक्तिहरु श्रद्धाञ्जलीका लागि पुग्नेछन् ।
ढिला गरी सकिएको थियो शव परीक्षण
बुधबार भएको घटना भए पनि घटनास्थलबाट शव संकलन र काठमाडौं ल्याउन नै समस्या भएको थियो । सातै शव बिहीबार दिउँसो मात्र काठमाडौं ल्याउन सम्भव भएको थियो ।
त्यसपछि पोष्टमार्टम गर्न अझै बढी समस्या भयो । मन्त्री अधिकारीसहित चार जनाको शव पहिचान भए पनि बाँकी तीन जनाको शव पहिचानमा समस्या भएको थियो ।
त्यसकारणले शवको डीएनए परीक्षण गर्दा समय लाग्यो । बिहीबार दिउँसो २ः३० देखि निरन्तर परीक्षण गरिरहेका चिकित्सकले राति १ः३० बजेमात्र परीक्षण सकेका थिए ।
सामूहिक श्रद्धाञ्जलीपछि शव आफन्तलाई
११ बजेसम्म सातै शवलाई सामूहिक राखेर श्रद्धाञ्जली दिएपछि आफन्तहरुलाई बुझाइने छ । मन्त्री अधिकारीको शव भने गृहनगर कास्कीको पोखरा लगेर पुनः श्रद्धाञ्जलीका लागि राखिने छ ।
त्यसपछि मात्र राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने छ ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
यति र तारा एयरलाइन्सले आफ्ना सबै उडान शुक्रबार नउडाउने जनाएको छ ।