गुल्मीको वामीटक्सार आउने भए कांग्रेस महामन्त्री कोइराला
कौरव खत्री,
प्रकाशित २०७५ फागुन १६ बिहिबार
486
Shares
गुल्मी । गुल्मीको महेन्द्र आर्दश माध्यमिक विद्यालयको हिरक महोत्सवको पाँचौ दिनलाई सम्वोधन गर्न नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला भोलि अर्थात शुक्रवार महोत्सवमा आउने भएका छन् ।
मुसिकोट नगरपालिका ७ वामीटक्सारमा रहेको विद्यालयले सञ्चालन गरेको हिरक महोत्सव श्रीमदभागवद् धन धान्याचल सप्ताह ज्ञानमहायज्ञको पाँचौ दिन अर्थात भोलि शुक्रवार फाल्गुन १७ गतेको प्रमुख अतिथिको रुपमा महामन्त्री तथा विपि पुत्र डा. शंशाक कोइराला दिउँसो ठिक १ बजे विद्यालयमा आउने कार्यक्रम रहेको हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।
फागुन १३ गते देखि शुरु गरिएको महोत्सवको उद्घाटन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरेका थिए । “सीपयुक्क्त जनशक्ति निर्माणको इच्छा नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा” भन्ने मुल नारा सहित विद्यालयमा हिरक महोत्सव श्रीमदभागवद् धन धान्याचल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ २० गते सम्म चल्ने आयोजकले जनाएको छ ।
महायज्ञबाटै ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित सञ्चालन गरिएको महायज्ञबाट विद्यालयले संकलित सहयोगले विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।