arrow

जहाँ अधिकारीले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाए

logo
वासुदेव पौडेल, हरि बाँस्तोला,
प्रकाशित २०७५ फागुन १६ बिहिबार
rabindra-adhikari31.jpg

पोखरा । बुधबार चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा उनको निधन भयो । भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहेका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उनले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाएको स्मरण गर्छन् ।

“त्यसै बेलादेखि नै मैले उहाँलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रुपमा चिनेको हुँ”, आचार्यले भने, “उहाँमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।”

मन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।  जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुगेका थिए ।

मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उनले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए।

“आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महीना अध्यापन गरेको विद्यालयलाई उहाँले निकै माया गर्नुहुन्थ्यो”, उनले भने, “विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।” सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोलेकबा थिए ।

विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उनले भनेका थिए , “सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महीनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनै पर्छ ।” मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए ।

बोलिसके पछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताए। उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राखेका थिए ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिएका थिए ।

बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ