पर्यटन मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक, सार्वजनिक बिदा, संसदबाट शोक प्रस्ताव
सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने
प्रकाशित २०७५ फागुन १६ बिहिबार
477
Shares
काठमाडौँ । संघीय संसदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दैछ ।
बिहीबारलाई सरकारले राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले फागुन १६ गतेलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हो । मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उनीहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।
सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले उक्त हेलिकप्टरका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहेको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।