arrow

अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेता : देउवा

नेपाली कांग्रेसद्वारा शोक प्रकट

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य थिए भनेका छन् ।

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उहाँले समवेदना सन्देशमा उल्लेख गरेका छन्।

दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोक सहन शक्तिका लागि भगवानसँग प्राथना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

यसैबीच विवेकशील साझा पार्टीले हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ