arrow

सार्वजनिक सुनुवाइमा आँधीखोलाको चिन्ता, वडामा बडापत्र नहुँदा सेवाग्राही अलमलमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन १४ मंगलबार
sunwai1.jpg

स्याङ्जा । आँधीखोलाबाट करोडौ आम्दानी गर्ने स्थानीयतहले आँधीखोला संरक्षणमा ध्यान नदिएको प्रति चिन्ता व्यक्त गरिएको छ । हरेक नयाँ आर्थिक बर्षमा आँधीखोलाको ढुङ्गा, गिटी र बालुवा निकासीका लागि करोडौ रकममा ढेक्का पट्टा लगाएपनि आँधीखोला संरक्षणमा स्थानीयतह नलागेको आरोप नागरिकले लगाएका छन् । वालिङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सनुवाई कार्याक्रममा नागरिकले आँधीखोलाको स्वरुप विग्रने गरि दुरुपयोग हुन थालेको गुनासो गरेका हुन् । जिल्लाको मध्यभागबाट वग्ने प्राचिन ईतिहास बोकेको आँधीखोला संरक्षण भन्दा दोहनमा मात्रै स्थानीयतह तल्लीन रहेको नागरिकको बुझाई रहेको छ । जिल्लाका ३ नगरपालिका र दुई गाँउपालिकाले आँधीखोलामा निस्कने ढुङ्जा गिटी बालुवाका निकासीका लागि टेण्डर गर्दै आएका छन् ।

वालिङ १ का गणेश राउतले आँधीखोला संरक्षण भन्दा आँधीखोलालाई दुरुपयोग गर्ने संख्या बढ्दो रहेको बताए । आँधीखोलाको स्वरुप विगार्ने प्रचलन पछिल्लो समय बढ्दै गएकाले स्थानीयतहले ध्यान दिनुपर्ने धारणा राउतको थियो । बर्षेनी आँधीखोलाबाट आम्दानीको श्रोत बनाउदै आएका स्थानीयतहले अहिले सम्म आँधीखोलाबाट उठाइएको रकमको १ प्रतिशत रकम संरक्षणका लागि खर्च गरेको पाईदैन । स्थानीयतहले ढुङ्गा, गिटी र बालुवामा लगाईने कर भन्दा बढी उपभोक्ताले तिर्नुपरेको गुनासो आएपनि अहिले सम्म कुनै निकायले अनुगमन पनि गरेको छैन । जिल्लाकै पहिचानका रुपमा रहेको आँधीखोला संरक्षण गर्ने चासो नदिने हो भने कालन्तरका यसको पहिचान मेटिन सक्ने चिन्ता नागरिकको छ । सार्वजनिक सुनुवाईमा स्वरोजगार, शिक्षा, नागरिक बडापत्र, सडकले निम्ताएको खतरा र सार्वजनिक जग्गाको खोजी कार्य जस्ता प्रश्न नागरिकले उठाएका थिए । हरेक दिन हजारौँ युवाहरु रोजगारीका लागी विदेश पलायन भईरहेका बेला यहाँका युवाहरुले युवा स्वोरोजगारप्रति वालिङले कस्ता कदम चल्दै छ भन्ने प्रश्न वालिङ १३ का जोगराज पाठकले उठाए ।

त्यस्तै वालिङ १३ कै पूर्णचन्द्र गौतमले वडाबाट पाईने सेवा र नगरपालिकाबाट पाईने सेवाप्रति सेवाग्राही अझै अलमलमा परेको भन्दै वडाबाट केकस्ता सुविधा पाईन्छ, नागरिक वडापत्र राखिएमा राम्रो हुने सुझाव पेश गरे । हरेक वडामा नागरिक बडापत्र राख्ने प्रावधान तोकिएको भएपनि अहिले सम्म बडापत्र नहुदा सेवाग्राही अलमलमा परेको गुनासो गौतमको थियो । त्यस्तै वालिङ १३ का शिक्षक एकनारायण गैह्रेले विद्यालयमा विद्यार्थीको सङ्ख्या कमी भएको भन्दै यसले विद्यालयको शैक्षिक गुणस्तर कम भएको महसुस गरिएको भन्दै गुनासो व्यक्त गरे । पत्रकार राधाकृष्ण डुम्रेले वालिङ नगरपालिकाभित्र सार्वजनिक जग्गाको खोजी भएको छ वा छैन भन्ने प्रश्न राखे । सार्वजनिक जग्गाको लागत नराख्दा र खोजी नहुदा यस्ता जग्गाको अतिक्रमण बढ्दो रहेको चिन्ता डुम्रेको थियो ।

सहभागिहरुको गुनासो सम्बोधन गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले आँधीखोला संरक्षण गर्न वालिङ नगरपालिकाले आँधीखोला कोरिडोर सडक निर्माण गर्न लागेको बताए । यसको संरक्षण गर्ने स्थानीयतहको दायीत्व हो खाँणले भने,“आँधीखोलाको स्वरुप गिार्ने गरी दोहन गर्ने अधिकार कसैलाई छैन ।” यस बिषयमा आगामी दिनहरुमा हाम्रो ध्यानाकर्षण हुनेछ  खाँणले भने । एक गाउँ, एक रंग, एक कृषि सहकारी कार्यक्रम, नगरपालिकामा स्थापना गरिने विभिन्न औद्योगिक क्षेत्रबाट ४ वर्षभित्र १८ हजार रोजगारी सृजना गरिने बताए ।  नगरपालिका अन्र्तगत रहेका झण्डै २९० गाउँलाई उत्पादनमुलक कार्यमा लगाउँदै उत्पादनको बजारीकरणका लागी मुक्तिनाथ एग्रो मार्केटिङ, विभिन्न सहकारी र वालिङ पोडक्ट मार्फत बजारको व्यवस्था समेत गरिने खाँणले दावी गरे । त्यस्तै शैक्षिक गुणस्तरका लागी विषयगत कमिटि गठन गरी अगाडि बढीने, कम विद्यार्थी सङ्ख्या भएकामा मर्ज गर्ने र शिक्षक अपुगमा पदमिलान गरी, शिक्षामा राजनितिक दबाव नभई आवश्यकताको आधारमा अगाडि बढ्ने खाँणले बताए ।

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले जनाप्रतिनिधि जनताको सेवक भएकाले नगरपालिकाको कार्यप्रगतिका लागी सिघै नगरपालिकाको सुचना वेवसाईट समेत लिन सकिने भन्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचमा जवाफदेहिता प्रदान गर्ने बताइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले नगरपालिकाको अहिलेसम्मका गतिविधिका बारेमा जानकारी गराउँदै प्रत्येक वडामा नागरिक बडापत्र राखिने प्रतिवद्धता व्यक्त गरे । वडाका कामलाई प्रविधिमैत्री बनाउनका लागी वडा अध्यक्ष तथा कर्मचारीलाई कम्प्युटर तालिम दिईएको, ल्यापटप समेत प्रदान गरिएकाले नागरिकलाई सहज सेवा पुग्ने सुवेदीको भनाई थियो ।

 सार्वजनिक सुनुवाईमा नेकपाका नगर संयन्त्र सदस्य हुमबहादुर गुरुङ, नेपाली कांग्रेसका नगर कार्यबहाक सभापति भीमलाल सुबेदी, राप्रपाका क्षेत्रीय अध्यक्ष पूर्णबहादुर थापा क्षेत्री, ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले सहभागीहरुको सहभागिता प्रति चासो राख्न नगरपालिकालाई सुझाव दिएका थिए । जनप्रतिनिधि र कर्मचारी भन्दा सार्वजनिक सुनुवाईमा जनताको सहभागिता कम हुदा जवाफदेहिता र पार्दशितामा अर्को प्रश्न उठ्ने भन्दै आगामी सार्वजनिक सुनवाईमा अधिकतम नागरिकको सहभागिता गराउन नगरपालिकालाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ