संसद भवनमा सुविधा सम्पन्न चमेनागृह बन्दै, शिलान्यासकै दिन मन्त्रीले दिए कारवाहीको चेतावनी
प्रकाशित २०७५ फागुन १३ सोमबार
241
Shares
काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधा सम्पन्न चमेना गृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्र्तगतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले अवको ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी संसद भवनमा चमेना गृह बनाउन शुरु गरेको हो ।
करिब ९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा ओगट्ने चमेनागृहमा १ सय ८६ जना क्षमताको डायनिङ हल निर्माण हुनेछ । मुस्लिम समुदायका लागि समेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको समेत चमेनागृहमा व्यवस्था गरिएको छ । कुल २ करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको सोमवार शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यस गरे। भवनको शिलान्यस गर्दै मत्री राईले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
उनले अवको ६ महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेकेदार कम्पनी र अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिका कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए । मन्त्री राईले भने, 'हाम्रो मुलुकमा निर्माणको जिम्मा लिन होडबाजी गर्ने तर समयमै निर्माण सम्पन्न नगर्ने प्रवृति हावी छ, तर अव पनि त्यस्तो प्रबृति दोहरिए सरकारले कडा कारवाही गर्नेछ ।' समयमै काम गर्नेलाई पुरस्कृत गरिने र काममा ढिलाई गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको जनाउ दिदै मन्त्री राईले निर्माणका क्रममा गुणस्तरलाई समेत ध्यान दिन आग्रह गरे।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले चेमनागृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने बताए ।
समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले अवको ६ महिनभित्रमा चमेनागृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको गुणस्तर र निर्माणपछि खानाको गुणस्तरमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाए ।