arrow

अन्ततः कांग्रेसमा सहमतिभन्दा बहुमतकै प्रयोग

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
congress-meeting2.jpg

काठमाडौं । अन्ततः नेपाली कांग्रेस बहुमतकै बाटोमा अगाडि बढेको छ । गत पुसमा भएको महासमिति बैठकले सहमतिमा जारी गरेको भनिएको विधानलाई लामो समयको रस्साकस्सी र आरोप प्रत्यारोपपछि बहुमतले संसोधनसहित पारित गरिएको छ । 

सहमतिअनुसार महासमितिको निर्णय अक्षरसः पालना गर्ने भनिएको थियो । तर महासमितिको भावना विपरीत विधान पारित भएको छ । 

पार्टी मुख्यालय विपीनगर सानेपामा सोमबार केन्द्रिय समिति बैठकले विधान संशोधन पारित गरेको हो । महासमिति बैठकले केन्द्रिय समितिलाई केही बुँदा परिमार्जन सहित पारित गर्न पठाएको भएपनि केन्द्रिय समितिले महासमितिको भावना विपरीत संशोधित विधानलाई बहुमतले पारित गरेको हो ।

मुख्य गरी संशोधित विधानमा केन्द्रिय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो ।

समानुपातिक समावेशीको कुरामा पनि पटक पटक एउटैलाई अवसर नदिने गरि विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो । तर त्यसको बेवास्ता गर्दै केन्द्रिय समितिले बहुमतले संशोधित विधान टुङ्गाएको हो ।

महासमिति विपरीत विधान पारित भएपछि अब १३ औं महाधिवेशनको जस्तै केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । 

विमति सुनेन संस्थापनले 
महासमितिको म्यान्डेट तोडेको प्रति नेतृत्वसंग वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु नेताहरु असन्तुष्ट भए । उनीहरु तल्लोतहबाटै निर्वाचित भएर केन्द्रिय सदस्यहरु महाधिवेशनमा आउनु पर्ने पक्षमा थिए । 

११ नेताहरुले असहमति पनि जनाएका छन् । तर त्यो असहमतिलाई बहुमतले रोकिदियो । महासमिति बैठक पनि निकै रस्साकस्सी भएपछि लम्बिएको थियो । 

तर अन्त्यमा गएर सभापति शेरबहादुर देउवा वरिष्ठ नेता पौडेललाई फकाउन सफल भएका थिए । के सहमति भयो र फकाए भन्ने अहिलेसम्म बाहिर आएको छैन । 

तर सहमतिमा सकिएको कुरा फेरि अहिले आएर बहुमतका आधारमा महासमितिको सहमति विपरीत पारित गर्नुलाई भने काँग्रेस नेतृत्वमा सहमतिमा भन्दा बहुमतमै रमाउन चाहन्छ भन्ने स्पष्ट पारेको छ । 

केन्द्रिय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने भन्ने बारेमा संस्थापन पक्षले असहमति जनाएको थियो । पार्टीभित्र सही काम गर्न नसकिरहेको सन्दर्भमा यदि तल्लोतहबाटै आउनु पर्यो भने केन्द्रिय सदस्य हुन पनि कठिन हुने मनसायसहित देउवा पक्षले यसलाई अस्वीकार गरेको हो । 

के हुन्छ नेविसंघको ? 
काँग्रेस केन्द्रिय समिति बैठकले अहिलेसम्म नेविसंघको बारेमा केही निर्णय गर्न सकेको छैन । आइतबार दिउँसो पनि विद्यार्थीहरुबीच कुटाकुट भएको थियो ।

पटकपटक म्याद थप्दासमेत नेविसंघको नेतृत्व चुनाव गर्न असफल भएपछि अहिले नेविसंघ कार्यसमिति नै विघटित छ । 

मंगलबार बस्ने बैठकले निर्णय लिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेविसंघमा उमेरहदको मुद्दा पेचिलो बन्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ