काठमाडौं। ललितपुरस्थित नक्खुमा रहेको एनसेलको कार्यालय अगाडि बम विष्फोट भएको छ। नक्खु चोक नजीकको एनसेल कार्यालयको गेटमा आज साँझ ७:५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो।
बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए। बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए।
कमलपोखरीमा प्रेसर कुकर बम
काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ। कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले राससलाई जानकारी दिए। बम निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।