काठमाडौं । सञ्चार प्रविधि तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले फेसबुकसँग कर उठाउन खोज्दा सरकारले आलोचना गरिएको भन्दै गुनासो गरेका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले नेपाललाई उत्तर कोरीया बनाउन लागिएको भन्ने टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
१३ अर्ब रुपैयाँ फेसबुकबाट बाहिरिँदै आएको छ भनेर समाचार लेखिएको भन्दै त्यो पैसा राज्यले उठाउन खोज्नु के त्यो गलत हो ? भन्दै प्रश्न गरेका छन् । उनले विभिन्न समयमा साईबर हमला समेत हुने गरेको भन्दै त्यस्तालाई कारबाही गर्नको लागि पनि त्यस्ता सामाजिक सञ्जालहरुको संस्था नेपालमा दर्ता हुनैपर्ने दाबी पनि गरे । उनले विश्वका विभिन्न देशमा यस्तै प्रावधानहरु राखिएको पनि उनले बताए ।
कसैमाथि जानाजान मानहानी गरिएको छ भने उसलाई ६ करोड रुपैयाँसम्म जरिवाना गराउने कानून जर्मनीमा रहेको र भारतमा पनि यस्तो कानून रहेको भन्दै यही अभ्यास नेपालमा पनि गर्न लागिएको उनले स्पष्ट पारेका छन् । उनले सबै कर उठाउन तत्कालै नसकिएको भएपनि अरब भन्दा बढी कर भने उठ्न सक्ने दाबी पनि उनले गरेका छन् ।
व्यक्तिले फेसबुक चलाउन दर्ता गर्नुपर्ने भनेर भ्रम छरिएको भन्दै सामाजिक सञ्जालको संस्थाले मात्रै दर्ता गर्नुपर्ने प्रावधान राखिएको उनले स्पष्ट पारेका छन् । यो कानूनले सामाजिक सञ्जाललाई पनि मूलधारका सञ्चारमाध्यम जस्तै उत्तरदायी बनाउने प्रयासमात्रै रहेको उनले स्पष्ट पारेका छन् । उनले सकारात्मक कुरालाई कुनामा राखेर नकारात्मक कुराको मात्रै टिप्पणी नगरीदिन पनि उनले आग्रह गरेका छन् ।