arrow

टाइमकार्डको पूर्ण पालना नहुँदा बिपी राजमार्गमा दुर्घटना बढ्यो

गाँजा सेवन गरि चलाएको परीक्षण गर्ने उपकरण भएन

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
bp-highway1.jpeg

सिन्धुली । सिन्धुलीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सक्रियता अपनाउन थालेको छ ।  सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि प्रहरीले प्रभावकारी उपाय अवलम्बन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

चालकको लापर्बाही, तीव्र गति, ओभरलोड, यात्रुको गल्ती, सडकको अवस्था र मौसमका कारणले दुर्घटना हुने गरेको भए पनि सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सर्वेक्षणले जनाएको छ ।

तीव्र गतिका कारण आर्थिक वर्ष २०७३-०७४ मा तीव्र गतिका कारण २०, आव २०७४-०७५ मा ४१ र चालू आवमा ३१ वटा सवारी दुर्घटना भएको छ । त्यस्तै चालकको लापर्बाहीका कारण आव २०७३-०७४ मा १५, आव २०७४-०७५ मा १९ र चालू आवको हालसम्ममा १३ वटा सवारी दुर्घटना भएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

तीव्र गतिका कारण बिपी राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै २०७३ साल असार १ गतेदेखि बिपी राजमार्गको सिन्धुली सडकखण्ड भिमानदेखि नेपालथोक दुम्जासम्म टाइमकार्ड लागू गरिएको थियो तर बिपी राजमार्गमा सवारी चाप बढेसँगै टाइमकार्डको पूर्ण पालना नहुँदा दुर्घटना बढ्दै गएको हो । अब तीव्र गतिमा सवारी चलाउने चालकलाई प्रभावकारी कारवाही गर्ने प्रहरी उपरीक्षक सिंहले बताए ।

बिपी राजमार्गमा टाइमकार्डको पालना नगर्ने सवारी चालकलाई कारवाहीका लागि विभिन्न स्थानमा छड्के जाँच गर्ने उनको भनाइ छ । तीव्र गतिमा सवारी चलाउने अनि चेकपोष्ट नजिक आउन लागेपछि सडकमा नै रोक्दा सवारी दुर्घटना झन जोखिममा रहेको छ ।

प्रहरी उपरीक्षक सिंहका अनुसार आव २०७३-०७४ मा सवारी दुर्घटनाबाट ३१ मृत्यु, २३ गम्भीर घाइते र १४ सामान्य घाइते भएका थिए भने आव २०७४-०७५ मा ४० मृत्यु, ५१ गम्भीर घाइते र ५६ सामान्य घाइते भएका थिए । त्यस्तै चालू आवको हालसम्म ३० मृत्यु, ५७ गम्भीर घाइते र ६९ सामान्य घाइते भएका छन् । यसले सवारी दुर्घटना दर बढाइरहेको छ । यसको न्यूनीकरणमा प्रहरीको सक्रियता अब बढ्नेछ उनले भने। सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष र बालबालिकाको दर बढ्दो छ ।

अधिकांश दुर्घटना राजमार्गमा हुने गरेका छन् । आव २०७३-०७४ मा राजमार्गमा २६, ग्रामीण सडकमा सात र बजार तथा शहरी क्षेत्रमा तीन, आव २०७४-०७५ मा राजमार्गमा ४८, ग्रामीण सडकमा १४ र शहरी क्षेत्रमा दुई तथा चालू आवको हालसम्म राजमार्गमा ३२, ग्रामीण सडकमा नौ र शहरी क्षेत्रमा तीन सवारी दुर्घटना भएको छ । यसको न्यूनीकरणका लागि आवश्यक प्रयास अपनाउने तयारी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

बिपी राजमार्गका कुन सडकखण्डमा बढी दुर्घटना हुने गरेको छ त्यसको तथ्याङ्कका आधारमा दुर्घटना न्यूनीकरणका प्रयास शुरु गरिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । २०७३ सालदेखि हालसम्म बिपी राजमार्गको खुर्कोट दुम्जा सडकखण्डमा २५, भिमान चियाबारी सडकखण्डमा ११, चियाबारीदेखि सिन्धुलीगढी सडकखण्डमा नौ र सिन्धुलीगढीदेखि खुर्कोटसम्म एक दुर्घटना भएको छ । यसरी सबैभन्दा बढी दुर्घटना खुर्कोट दुम्जामा भएको भन्दै त्यस क्षेत्रमा ट्राफिक प्रहरीको निगरानी उच्च बनाइने उनको भनाइ छ ।

बिपी राजमर्गमा सवारी चाप बढेसँगै लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको स्थानीयवासीको भनाइ छ । सवारी दुर्घटना हुनुमा चालकले गाँजा सेवन गरी चलाउने गुनासो आउने गरेको भए पनि तत्कालै यसलाई परीक्षण गर्न नसकिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । मदिरा सेवन गरी सवारी चलाए जाँच गर्ने उपकरण भएकाले तत्कालै कारवाही गर्न सकिएको र यस सम्बन्धमा तत्कालै कारवाही गर्न नसकिए पनि प्रहरीले आवश्यक अनुसन्धान जारी राख्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ