arrow

‘प्रजातन्त्रको अनुभुति पाउन सकेनौ’

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन ७ मंगलबार
syangja-prajatantra.jpg

स्याङ्जा । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जावासीले प्रजातन्त्रको अनुभुति पाउन नसकेको गुनासो व्यक्त गरेका छन् । प्रजातन्त्र प्राप्तीपछि पनि मुलुकमा भष्टाचार, बलात्कार, हत्या हिंसा जस्ता घट्नाले प्रशय पाएको भन्दै प्रजातन्त्रको अनुभुति दिलाउन सरकार र राजनीतिकदललाई आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वालिङ नगरपालिकाले आयोजित गरेको प्रभातफेरी र अन्तरक्रियामा वोल्ने बक्ताहरुले नागरिकले प्रजातन्त्र प्राप्तीका लागि जुन उदेश्यका साथ आन्दोलनमा होमिए त्यसको प्रतिफल आज नपाएको उनीहरुले गुनासो गरेका हुन् ।

राजनीतिक आडमा भष्टाचार मौलाउनु, हत्याहिंसा बढ्नु, महिलाको सुरक्षा नहुनु जस्ता समस्या दिनप्रतिदिन बढ्दै जानुले शहिदहरुले देखेको सपना पुरा नभएको प्रति ध्यानाकर्षण गरे । तिनतहको सरकार निर्माण हुदा पनि जनताका आशा जस्ताको त्यस्तै रहनुले प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म आईपुगेको अनुभुति नदेखिएको उनीहरुले बताए ।

प्रजातन्त्र दिवसको अवसरमा नगरपालिकाले निकालेको प्रभातफेरी र्‍यालीमा विभिन्न संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योगी व्यवसायी, जनप्रतिनिधि लगायत प्रशासनिक निकायका सबैको सहभागिता रहेको थियो । वालिङ बजार परिक्रमापछि नगरपालिका परिषरमा कोणसभा गर्दै अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सरकार र प्रतिपक्षदलको भुमिका प्रति प्रश्न उठाएका थिए ।

राणादेखि राजा फाल्न शहिदहरुले खेलेको भुमिका अविस्मरणीय रहेको भन्दै शहिदहरुको सपना पुरा गर्ने दिशा तर्फ लाग्न सकैलाई आग्रह गरिएको थियो ।  कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले भष्ट्राचार निर्मुल नभएसम्म देश समृद्धि नबन्ने जिकिर गरे ।

जनताको काममा स्थानीय सरकार जिम्मेवार रुपले प्रस्तुत भएको भन्दै हरेक विकासमा जनताको सहभागिता हुने गरि नगरपालिका अगाडी बढेको खाँणले बताए । देश बनाउन सबैको सहकार्य आवश्यक छ खाँणले भने,“राजनीति भन्दा माथी उठेर देशको विकासमा लाग्नुपर्छ ।” विकासमा राजनीतिक विचार भन्दा पनि विकासमा भावनात्मक हुनु जरुरी छ उनले भने ।

अन्तरक्रियामा नगर उपप्रमुख कल्पना तिवारी, राजनीतिकदलबाट नेकपाका देउलाल गुरुङ, नेपाली काँग्रेसका लिलबहादुर रनपाल, राष्ट्रिय जनमोचाका राजेन्द्र गैह्रे, राप्रपाका दोरणबहादुर गुरुङ, इलाका प्रशासनका दामोदर शर्मा, संघसस्थाको तर्फबाट लक्ष्मीप्रसाद रेग्मी, पत्रकारहरुको तर्फबाट श्रीकृष्ण सिग्देल र नगरपालिकाका शाखा अधिकृत पदमप्रसाद पाण्डे लगायतका बक्ताहरुले सुशासनका लागि इमान्दारीता भयो भने मात्रै प्रजातन्त्रको अनुभुति हुने र शहिदको सपना साकार हुने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ