अन्ना हजारेको एजेण्डामा बाबुराम भट्टराई, देखे लोकपालको आवश्यकता
प्रकाशित २०७५ फागुन ५ आइतबार
170
Shares
पर्वत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भारतमा सरकार विरुद्ध अनसनरत अन्ना हजारेले जस्तै भ्रष्टाचार रोक्न अधिकार सहितको लोकपालको व्यवस्था गर्न माग गरेका छन् ।
उनले बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्किँदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार राखेका हुन् । उनले सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसद्प्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरे ।
भारतमा हजारे २०१२ देखि नै देशमा भ्रष्टाचार नियन्त्रणको लागि अधिकार प्राप्त लोकपाल विधेयकको माग गर्दै केही दिनदेखि अनसनमा छन् । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा पुगेका डा भट्टराईले पनि यस्तो धारणा राखेका हुन् । लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गरे।
उनले अहिलेको मोडेलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने स्पष्ट पारे । अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।