घरको ढोका खोल्न लगाइ मुख थुनेर प्रहरी हबल्दारले करणी गरेको आरोप
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
468
Shares
घोराही । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए। रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
घटना अनुसन्धानका क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । प्रहरी सङ्गठनले यस घटनालाई लुकाउने प्रयास थालेको पीडित पक्षको भनाइ छ ।