अख्तियारकै आयुक्त भ्रष्टाचारको घेरामा, राजीनामा नदिए महाभियोग लगाउने नेकपाको चेतावनी
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
846
Shares
काठमाडौं । जब घुस्याहालाई कार्वाही गर्ने निकायमै बसेको मानिस आफै घुस्याहा भए लाग्छ । तर भयो त्यस्तै घुसकाण्डमा कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै मुछिए ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो केही व्यक्तिहरूबीच सार्वजनिक भएपछि उनमाथि नैतिक प्रश्न खडा भएको छ ।
आफूलाई फसाइएको दावी गर्दै आएका पाठकलाई अब राजीनामा दिनुको विकल्प छैन ।
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयुक्त पाठकले राजीनामा नदिए महाभियोग लगाउने जनाएको छ । यस विषयमा छलफल अगाडि बढाएको नेकपाले जनाएको छ ।
कलेजको स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको समाचार सार्वजनिक भएसँगै नेकपाले महाभियोगको छलफल अगाडि बढाएको हो ।
राजीनामा नदिए महाभियोग दर्ता गरााउने नेकपाले जनाएको छ । घुस रकम लिएको प्रमाणस्वरुप सिंगो भिडियो नै बाहिर आइसकेपछि अब त्यसलाई पुष्टि गरिरहनु पर्ने आवश्यकता देखिँदैन ।
फसाइएको हो भने फस्ने आयुक्त कस्ता ? फेरि आयुक्तले कुनै पनि ठाउँमा रकमको कारोबार कसैसंग गर्नै पर्दैन । यो अवस्थामा फसिन्छ कसरी ?
पाठकले सार्वजनिक रुपमा जवाफ दिनुपर्नेमा कानुनमन्त्री भानुभक्त ढकाल छन् । अर्थात् नैतिक समाधान नगर्ने हो भने आयुक्तका लागि अबको घडी उपयुक्त नदेखिने संकेत सरकार र सत्ताधारीले दिइसकेको छ ।
पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगिसकेको बताइएको छ ।
सत्ताधारीको नियतमा पनि प्रश्न
प्रश्न सत्ताधारीको नियतमा पनि देखिएको छ । छानबिन नगरी राजीनामा किन माग्ने ?
छानबिन गर्नुपर्यो । छानबिनमा दोषी ठहर भए कार्वाही नै भोग्नुपर्छ आयुक्त पाठकले ।
तर छानबिनमा जोड दिनुको सट्टा सत्ताधारी दलका नेताहरुले राजीनामा दिनुपर्नेमा दवाव सिर्जना गर्नुको पछाडि के छ ।
यो घटनामा अर्को कुनै षडयन्त्रको रहस्योद्घाटन हुने त हैन ?
संसदबाट महाभियोग लगाउँदा दुई तिहाइको समर्थन चाहिन्छ । नेकपालेमात्र सम्भव छैन । सत्ताधारी फोरमसंग पनि यो विषयमा नेकपाका केही नेताले छलफल गरिसकेको बुझिन आएको छ ।