काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडले डच क्लब आयाक्सलाई २–१ ले पराजित गरेको छ ।
आयाक्सको मैदानमा भएको खेलमा रियालका लागि करिम बेन्जेमा र मार्को असेन्सियोले गोल गरे भने हाकिम जिएकले सान्त्वना गोल फर्काए ।
पहिलो लेगमा अबे खेलमा अग्रता लिएसंगै दोस्रो लेग घरेलु मैदानमा खेल्दा रियाल क्वार्टरफाइनल नजिक पुगेको छ ।
विवादमा आयो भीएआर
भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि भने विवादमा आउँदै गएको छ । भीएआर विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भयो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले गोल गरेको भन्दै खुसीयाली मनाए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा रेफ्रीले गोललाई मान्यता दिएका थिएनन् ।
दोस्रो हाफमा रियालले करीम बेन्जेमाको गोलमा अग्रता लियो । ६० औं मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्रभित्र दिएको पासमा बेन्जेमाले उत्कृष्ट फिनिस गर्दै रियाललाई अग्रता दिलाएका थिए ।
त्यसको १५ मिनेटमा नै हाकिम जिएकले खेल बराबरीमा ल्याए । डेविड नेरेसको पासलाई उनले १० यार्डबाट सहजै गोलमा परिणत गरेका थिए ।
रियालले खेलको तीन मिनेट समय बाँकी रहँदा पुनः अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले ६ यार्ड बक्सभित्रबाट गोल गर्दै रियाललाई खेलमा अगाडि बढाए ।
तर उक्त गोलको मुभमा रियालका खेलाडी लुकास भाज्केजले आयाक्सका खेलाडीलाई फल गरेको भन्दै गोलमा केहीबेर विवाद भएको थियो । भीएआरमा रेफ्रीले कुनै असर नपरेको भन्दै फल लिएका थिएनन् ।
आयाक्सका लागि वैकल्पिक खेलाडी कास्पर डोलबर्गले इन्जुरी समयमा खेल बराबरी गर्ने सुनौलो अवसर खेर फाले ।
दोस्रो लेगको खेल मार्च ५ मा रियालको घरेलु मैदानमा हुनेछ ।