लालझाडी । जिल्लाको दक्षिणी क्षेत्रका बिभिन्न समस्याहरुको समाधानको माग राख्दै सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका बिषयमा १२ दिन बित्दा समेत पहल नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुन ३ गते २ घन्टे चक्का जाम गर्ने जनाएको छ ।
नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा कांग्रेस नेता तथा पुर्व सांसद दिवानसिंह बिष्टको प्रमुख आथित्यमा मंगलबार लालझाडीमा बसेको बैठकले फागुन ३ गते दक्षिणी क्षेत्रका मुख्य नाका र बजार हरुमा २ घन्टा चक्का जाम गर्ने निर्णय गरेको हो ।
सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझाएको ज्ञापनपत्र बुझ्दै ३ दिन भित्र समस्या समाधान गर्ने बताए पनि कुनै पहल नगरिएपछि आन्दोलनमा उत्रनु परेको नेपाली कांग्रेसका नेता दिवानसिंह बिष्टले बताए । कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्थानीय निकायहरुले गर्दै आएका अनियमितता , ढिलासुस्ती र बेथिति नियन्त्रणमा नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
दक्षिणी क्षेत्रको कैलाली कञ्चपुरको प्रवेशद्वार डोकेबजार , पुनर्वास ,बेलौरी र बेलडाँडीमा फागुन ३ गते दुई घण्टा चक्काजाम गरिने नेपाली कांग्रेसले जनाएको छ । मंगलबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपि प्रसाद उपाध्याय र सचिब विश्राम रानाद्वारा प्रेस बिज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका हुन ।
दक्षिणी क्षेत्रमा भइ रहेको सीमा अतिक्रमण , उखु कृषकका समस्या र स्थानीय निकायहरुमा भइ रहेका लापरबाही नियन्त्रणमा प्रदेश सरकार र केन्द्र सरकार मौन देखिएकाले आन्दोलित हुनु पर्ने अबस्था देखिएको नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले जनाएको छ ।
मंगलबार लालझाडी गाउँपालिकामा बसेको नेपाली कांग्रेस क्षेत्र नम्बर १को घुम्ती बैठकले लालझाडी गाउँपालिकामा भइ रहेका अनियमितता बारे सचेत बनाउन फागुन १७ गते गाउँपालिकामा बिरोध सभा गर्ने जनाएको छ । लालझाडी गाउँपालिकाले गरेका गतिविधि हरुको जानकारी लिन क्षेत्रीय सभापतिको संयोजकत्वमा समिती गठन समेत गरिएको मंगलबार जारी गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को बिज्ञप्तीमा जनाइएको छ ।
स्थानीय निकायहरुले बिकास निर्माणका कार्यहरुमा देखाउदै आएको ढिलासुस्ती र अनियमितता रोक्न खबरदारीका लागि लागेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले घुम्ती बैठक सञ्चालन गर्दै आएको छ । आउदो फागुन ११ गते बेलडाँडीमा बैठक राख्ने समेत जनाएको छ ।