arrow

विदेशबाट फिर्ता ल्याइएका दशौं शताब्दीका प्रस्तर मूर्तिहरुको तीन महिने प्रदर्शनी

स्थानीय समुदायले फिर्ता लिन पाउने

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
rrr1.jpg

काठमाडौं । राष्ट्रिय संग्रहालय छाउनीले चोरी भएर विभिन्न देशमा पुगेका ढुंगाका मूर्तिहरु फिर्ता ल्याएर प्रर्दशनीमा राखेको छ । नेपालका विभिन्न स्थानका ऐतिहासिक तथा पुरातात्विक मूर्तिहरु चोरी भएर विदेश पुगेका मुर्तिमध्ये बेलायत र अमेरिकाबाट फिर्ता ल्याइएका तथा नेपालकै विभिन्न स्थानबाट चोरी भई बरामद गरिएका मुर्तिहरु बुधबारदेखि तीन महिनासम्म छाउनीको राष्ट्रिय संग्रहालयमा प्रर्दशनीमा राखिएका छन् । 

नेपालबाट चोरी भई विदेश पु-याइएका मूर्तिमा विशेषगरी १० औ देखि १२ औ शताब्दीका ढुंगाका मुर्तिहरु रहेको संग्रहालयका निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । 

विभिन्न कालखण्डमा बनाइएका, मूर्तिको मूल्यमान्यता कस्तो छ, नेपालको संस्कृति साथै कस्ता मूर्ति चोरी हुने गरेका छन् भन्ने जानकारीका लागि प्रर्दशनी गरिएको संग्रहालयले जनाएको छ ।   


  
पछिल्लो समयमा मूर्ति चोरी हुने क्रम बढदो छ । सन् १९७० मा युनेस्को महासन्धिले पारित गरेअनुसार चोरी भएका मूर्ति फिर्ता गनुपर्छ भन्ने मान्यताका आधारमा ती मूर्ति फिर्ता आइरहेका छन् । 

नेपालले पनि यो महासन्धिमा सन् १९७६ मा हस्ताक्षर गरी पक्ष राष्ट्र भइसकेकाले अब नेपालका जुनसुकै मूर्तिलाई जुनैसुकै स्थानबाट चोरी गरेर विदेश पुर्याइए पनि ती मूर्तिहरु युनेस्कोको महासन्धि अन्र्तगत फिर्ता हुने संग्रहालयका निर्देशक श्रेष्ठले जानकारी दिए । 

प्रर्दशनीमा ११ औ शताब्दीको गौतम बुद्धको मूर्ति, पनौती त्रिवेणीघाटको सूर्यको मुर्ति, फर्पिङस्थित कमलपोखरीको १२ औ शताब्दीको सरस्वतीको शिर लगायतका ३६ वटा मूर्ति अस्थायी प्रर्दशनीमा राखिएका छन ।

ढुंगाको सरस्वतीको कलात्मक शिर अमेरिकास्थित नेपाली दुतावासबाट २०५६ साल जेठ १ गते प्राप्त भएको संग्रहालयले जनाएको छ । १४ औं शताब्दीको पनौती त्रिवेणीघाटको सूर्यको मूर्तिपनि २०५६ सालमै अमेरिकाबाट फिर्ता ल्याइएको थियो । 


पाटनको जिल्ला अदालतबाट २०६५ सालमा प्राप्त चन्द्र महारोशनको मूर्ति, १० औ शताब्दीको श्रीधर बिष्णुको मूर्ति काठमाडौंको ह्युमत टोलबाट, १२ औ शताब्दीको उमामहेश्वरको मूर्ति, अष्टिमूनी, देवी लगायतका चोरी भएका बिशेषगरी ढुंगाका  मुर्तिहरु प्रर्दशनीमा राखिएका छन् ।

संग्रहालयमा विदेशबाट ४५ वटा सहित दुई हजार एक सय एकान्नब्बे वटा मूर्ति फिर्ता भएपनि प्रदर्शनीमा भने ३६ वटा मात्रै राखिएका छन् । 

चोरी भएर फिर्ता ल्याइएका मूर्तिलाई स्थानीयले यथास्थानमा पुनःस्थापना गर्न चाहेमा लैजान पाउने तर त्यसको सुरक्षाको प्रत्याभुति दिनुपर्ने उनले बताए । यो प्रर्दशनी गर्नुको मुख्य उद्देश्य पनि चोरी भएर फर्केका मूर्ति स्थानीय समुदायलाई हस्तान्तरण गर्नु नै रहेको उनको भनाइ छ । 

संग्रहालयले आप्mनो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष संग्रहालयमा रहेका विभिन्न ऐतिहासिक तथा कलात्मक सामग्रीको प्रर्दशनी गर्दै आएको छ । गएको बर्ष पनि फागुन र चैत महिनामा ऐतिहासिक कलात्मक सुकुन्दाहरुको प्रर्दशनी गरिएको थियो । 

छाउनी संग्रहालय तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले राष्ट्रिय संग्रहालयका रुपमा विक्रम सम्वत १९९५ फागुन १ मा सर्वसाधारणका लागि खुल्ला गरेका थिए । त्यसपछि हरेक वर्ष फागुन १ गते नै संग्रहालयले स्थापना दिवस मनाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ