नेपालमा कण्डम प्रयोगकर्ता किन घटे ?, परम्परागत विधि अपनाउने बढे
प्रकाशित २०७५ फागुन १ बुधबार
353
Shares
काठमाडौं। यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको तथ्यांक आएको छ। एचआइभी एड्स लगायत यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको हो।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार, नेपालमा यौन उमेरका ८ प्रतिशत पुरुषले मात्र कण्डम प्रयोग गर्ने गरेका छन्। तर कण्डम लगायत परिवार नियोजनकाका साधन प्रयोग गर्ने भने करीब ४३ प्रतिशत छन्।
फेबु्रअरी १३ अर्थात् आज बुधबार मनाइने अन्तर्राष्ट्रिय कण्डम दिवसको सन्दर्भ पारेर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार, नेपालमा ३१ हजार २० एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन्। नेपालमा ७७ प्रतिशतमा कण्डमबिना गरिएको यौनसम्पर्कबाट एचआइभी सर्ने गरेको डरलाग्दो तथ्यांक पनि केन्द्रले दिएको छ।
सरकारले करोडौं खर्च गरेर एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतना मूलक कार्यक्रम चलाउँदै आएको छ। तर पनि यौन रोग निरोधक कण्डमको प्रयोगमा कमी आउनु चिन्ताको विषय बनेको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा तारानाथ पाखरेल स्वीकार्छन्।
प्रयोगका लागि झण्झटिलो र सन्तुष्टिमा कमी हुने कारण पनि यसको प्रयोग घटेको हुनसक्ने उनको भनाइ छ। केन्द्रले वार्षिका रुपमा १० लाख कण्डम निःशुल्क वितरण गर्दै आएको छ। विश्वमा वर्षेनी ५ अर्ब कण्डम प्रयोग हुने गरेको तथ्यांक छ।
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा परम्परागत विधि अपनाउने, गर्भपतन, विदेशमा काम गर्न जानेको संख्यामा बृद्धि लगायतका कारण हुनसक्ने अध्ययनले देखाएको। पाँच वर्षको अन्तरालमा गरिने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले पनि सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या समेत घटेको देखाएको छ।
नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको सहयोगमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६’ ले नेपालमा प्रजनन उमेर १५ देखि ४९ वर्ष का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा साधन प्रयोग गर्नेको संख्या ४३ दशमलव २ प्रतिशत र सन् २००६ मा ४४ दशमलव २ प्रतिशत थियो।
तर, सम्पर्कको बेला वीर्य बाहिर खसाल्ने र महिनावारीको ख्याल गरेर सम्पर्क राख्नेको संख्या भने बढेको पाइएको छ। सर्भेक्षण अनुसार प्रजनन उमेरका करीब दश प्रतिशतले परम्परागत विधि अपाउने गरेका छन्। सन् २०११ परम्परागत विधि अपाउनेको आँकडा ७ प्रतिशत सन् २००६ मा ४ प्रतिशत थियो।
प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का करीब ५० प्रतिशतले र सबैभन्दा कम प्रदेश ४ का ३७ प्रतिशतले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। न्यू एराको तथ्यांक अनुसार, परिवार नियोजनका लागि सबैभन्दा बढी करीब १५ प्रतिशत महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन् भने, स्थायी बन्ध्याकरण गराउने पुरुष साढे ५ प्रतिशत मात्रै छन्। निरोधक सुइ लगाउने महिला करीब ९ प्रतिशत, पिल्स खाने साढे ४ प्रतिशत, इम्प्लान्ट लगाउने ३ आइयुडी लगाउने साढे १ प्रतिशत छन्।