मन्त्री पंडितको रणनीतिः कर्मचारीलाई रोक्ने, आफू विदेश कुलेलम ठोक्ने
प्रकाशित २०७५ फागुन १ बुधबार
296
Shares
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कर्मचारी समायोजनको काम छाडेर विदेश कुलेलम ठोकेका छन् । उनी आफैले फागुन ३ सम्म सबै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिसक्ने घोषणा गरेका थिए ।
घोषणालाई अलपत्र पार्दै उनी विदेश घुम्नमा मस्त छन् । उनी हाल युएईमा छन् ।
उनको कर्मचारीहरुसंग कहिल्यै कुम मिलेन । कर्मचारीहरु भनेका देशका नोकर नै हुन् भन्ने उनको मानसिकता र सरकारले भनेको मान्नै पर्ने भन्ने हठी स्वभावका कारण उनी आलोचित हुँदै आएका छन् ।
कर्मचारीबाट काम लिन चाहीं नसक्ने अनि कार्वाही गर्न पनि नसक्ने प्रवृत्तिका मन्त्री पंडित कर्मचारीको सानो झुण्डमा रमाउँदै आएको आरोप लाग्दै आएको छ ।
कर्मचारी समायोजनको काम लथालिंग पारेर मन्त्री पंडित आफूमात्र हैन मन्त्रालयका समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन् ।
मन्त्रालयले संघमा ४७९२०, प्रदेशमा २२७५५ र स्थानीय तहमा ६७५०३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । तर मंगलबारसम्म ५६ सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७०३४ जनाले फाराम भरेका छन् ।
दुई दिनमा कुनै चमत्कार हुने सम्भावना छैन । यही गतिले अगाडि बढ्ने हो भने फागुनभरमा पनि पूर्ण समायोजन हुने छाँट देखिँदैन ।
अरुलाई गाली गर्ने मन्त्री पंडित आफै मितब्ययी हुन नसक्नुलाई कर्मचारीहरुले पनि ‘भन्ने बाटो भएको’ भन्दै कुरेर बसेका छन् ।
मन्त्री पंडितले नै कर्मचारीहरुलाई विदेश घुम्न जानमा कडाइ गरेका थिए । जानैपर्नेलाई पनि विभिन्न झमेला दिइँदै आइएको छ । फेरि नाममात्रका मितव्ययी मन्त्री नै विदेश गएपछि कसले के भन्ने ?