प्रधानमन्त्री ओलीले गर्दैछन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ
कार्यक्रम घोषणा गर्न सबैभन्दा अगाडि
प्रकाशित २०७५ फागुन १ बुधबार
472
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दैछन् ।
राष्ट्रिय सभागृहमा दिउँसो १२ः३० बजे शुभारम्भ कार्यक्रम हुने भन्दै नेपाल टेलिकमले प्रचारप्रसार गरिरहेको छ । टेलिकमले सक्रिय सहभागीताका लागि समेत आग्रह गरेको छ ।
सामाजिक न्याय र सामाजिक दृष्टिले सके १२ महिना नै र नसके सय दिनका लागि भए पनि भत्ताको व्यवस्था गर्न लागिएको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन् ।
सम्पूर्ण युवालाई एक दुई वर्षभित्रै रोजगारको व्यवस्था गर्न सकिएन भने नेपालमा काम गर्ने युवाको अवस्था नै नहुने बताउँदै उनले युवा रोक्न विशेष योजना ल्याइने उनले बताए ।
परिवारमा एक जना पनि रोजगारीमा नभए युवा भत्ताको व्यवस्था गरिएको उनले बताउँदै भने –यो निर्वाह भत्ता नभए पनि कामका लागि सघाउ पुगोस् भन्ने हो ।
१८ देखि ५९ वर्षका मानिसलाई समेटेर सरकारले यो कार्यक्रम ल्याएको छ । मन्त्री विष्टले भने, ‘युवाहरु विदेशमा छन् । नेपालको श्रम विदेशमा बेचिएको छ । बाँझो जग्गा बढेको छ । नेपालमा कामको सम्मान गर्ने बानी छैन । यसकै कारण युवाहरु काम गर्न आकर्षित छैनन् ।’
मन्त्री विष्टले सीप र तालिमको अभावमा कैयौं नेपालीले राम्रो काम नपाएको भन्दै नेपाली युवालाई सीपमुलक बनाउन लागिरहेको बताए ।
विष्टले थपे –यसकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछौं । वेरोजगार युवाको संख्यासमेत पत्ता लगाउन प्रयासरत छौं । सात सय ५३ स्थानीय तह र सातै प्रदेशमा रोजगार सेवा केन्द्र खडा गरिन्छ ।
घोषणा गर्न च्याम्पियन
प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम घोषणा गर्नमा सबैभन्दा बढी माहिर छन् । उनी घोषणा गर्नलाई अरु सरकार भन्दा निकै अगाडि छन् ।
घोषणा र शुभारम्भ कार्यक्रमलाई मात्र ध्यानमा राख्ने हो भने ओलीले एक वर्षमा दर्जनौं घोषणा र शुभारम्भ गरे ।
दुर्भाग्य त यो छ कि उनी आफैले कति कार्यक्रम घोषणा गरें र कति कार्यक्रमको शुभारम्भ गरें भन्नेमै अलमलमा छन् होला ।
२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा उनले सपथ खाएकै दिन नेपालबाट तुईन दुई वर्षभित्रैमा हटाउने निर्णय गरेका थिए ।
अहिलेसम्म तुईनको जिन्दगी जिउन वाध्य छन् नेपालीहरु । यो कार्यक्रम पनि सफल पार्छन् भन्ने छैन ।
देशभित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्धेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदैछ । तर रोजगार दिने उद्योग तथा कलकारखाना नबढाउने अनि रोजगार मात्रै दिन्छु भनेर त भएन होला ।
सरकारले पाँच वर्षभित्र वाध्यताले विदेश जानेलाई स्वदेशमै राख्ने भनिरहेको छ तर त्यसको योजना ल्याएको छैन ।
घोषणा गर्दैमा सबै काम तमाम हुन्छ भन्ने मानसिकता दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि ओलीमा नगएको भन्दै चर्को आलोचना भइरहेको छ ।
त्यसैगरी विज्ञहरु लहलहैमा लागिरहेकोप्रति पनि आलोचना भइरहेको छ ।