काङ्ग्रेसको सरकारका पालामा शुरु भएका आयोजना अलपत्र पारिए : नेता सिटौला
प्रकाशित २०७५ माघ २९ मंगलबार
486
Shares
बनियानी। नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्ने बताए। झापाको भद्रपुरमा आजदेखि शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले वर्तमान सरकारले समग्र जनताको समृद्धिभन्दा पनि पार्टी कार्यकर्ताको समृद्धिमा ध्यान दिएको आरोप लगाए। “सबै जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्छ”, उनले भने।
आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ मा आफू सांसद हुँदा उक्त क्षेत्रको विकास लागि पाँच अर्ब बढीका भौतिक विकासका योजना ल्याएर काम तीव्र गतिमा अघि बढाएपनि वर्तमान सरकारले बजेट रोकेको भन्दै आपत्ति जनाए। “काङ्ग्रेसको सरकारका पालामा शुरु भएका आयोजना अलपत्र पारिएका छन्”, उनले भने, “विकासमा राजनीति गरिनु विडम्बनापूर्ण छ।”
काङ्ग्रेस भद्रपुर–६ वडा समितिको आयोजनामा शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगितामा महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको खेल संयोजक रतिया राजवंशीले बताए।