बाबुराम भट्टराई भन्छन् – अलिअलि प्रगति त राणाकालमा पनि भएको थियो
प्रकाशित २०७५ माघ २९ मंगलबार
459
Shares
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अलिअलि विकास त राणाकाल र पञ्चायती व्यवस्थामा पनि भएको भन्दै अहिलेको सरकारले विकासमा फड्को मार्न नसकेको आरोप लगाएका छन् ।
मेची महाकाली यात्रामा रहेका डा भट्टराईले भने, ‘ प्रगति त अलिअलि सधै भइराख्छ अहिले पनि भा छ । राणाले पनि बिजुली बालेका थिए । त्रिचन्द्र क्याम्पस खोलेका थिए । त्यो ठूलो कुरा हैन । जनता के चाहन्छन् भन्ने हो ।’
उनले जनअपेक्षा अनुसार अहिलेको सरकार हिँड्न नसकेको आरोप लगाए । स्वदेशमै रोजगारी प्राप्त, गरिबीको रेखामुनीबाट माथि पुग्ने, कलकारखाना खुल्ने लगायतका अपेक्षा जनताले राखे पनि यो सरकारले यतातर्फ ध्यान दिन नसकेको उनको ठम्याइ छ ।
आर्थिक क्रान्ति ल्याउनु पर्नेमा दुई तिहाइको सरकार आफै अलमलमा परेको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् ।
उनले केपी शर्मा ओलीको राष्ट्रवादप्रति कटाक्ष गर्दै भने, ‘साथीहरु राष्ट्रवादको कुरा गर्दै हुनुहुन्छ हाम्रो सीमानामा एउटा पनि सुरक्षाकर्मी रहेनछन् उतापट्टीका सुरक्षाकर्मीमात्र रहेछन् ।’
भ्रष्टाचार बढ्नु दुःखद भन्दै उनले ‘सत्तामा पुगेपछि साथीहरु झिँगा कता लत्पतियो भनेजस्तो भएको छ, यो गलत भयो, भ्रष्टाचार बढ्योे ।
उनले वाइडबडी प्रकरण दुःखद भयो भन्दै कमिशनका लागि गराइएको घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न पनि माग गरेका छन् ।
भट्टराईको यो कस्तो भ्रमण ?
भट्टराई गत माघ १५ गतेदेखि मेची महाकाली यात्रामा छन् । उनले भने, ‘ पाँचथरबाट सुरु भएको यात्रा फागुन १५ गते महाकालीमा १८८९ किलोमिटर पार गरेर टुंगिने छ ।’
उनले यो भ्रमणबाट नेपालीको वास्तविक वस्तुस्थिति उतार्न सजिलो हुने बताए । गाउँगाउँमा पुगेपछि त्यहाँ नेपालीहरु कसरी जीवनयापन गरिरहेका छन् भन्ने पत्तो लाग्ने उनको ठम्याइ छ ।
यसअघि पूर्वप्रधानमन्त्री भट्टराई उनी पत्नी एवं पूर्व मन्त्री हिसिला यमीसंग युरोप र अमेरिकाको भ्रमण गरेर फर्केका थिए ।
उनले भने, ‘विश्व कहाँ पुग्यो भनेर हामी एक महिना युरोप भ्रमणमा गयौं, अमेरिका घुम्यौं, अब नेपाली जनताको स्थिति बुझ्न एक महिना नेपाल घुम्दैछौं ।’