श्रमजिवीको सम्मान गर्न एभिन्यूजलाई प्रेस युनिनयको आग्रह
प्रकाशित २०७५ माघ २८ सोमबार
638
Shares
काठमाडौं । एभिन्यूज टेलिभिजनमा काम गर्ने वातावरण नभएपछि ३ जना श्रमजिवी पत्रकारहरुले सो संस्था छाडेपछि व्यवस्थापनका पक्षबाट दैनिक पत्रिकामा सूचना निकाली सार्वजनिक रुपमा चरित्र हत्या गर्ने कार्यप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण जनाएको छ । सोमबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै एउटा निश्चित कालखण्ड काम गरिसकेका साथीहरुलाई आफ्नो संस्थामा टिकाइ राख्न वा छोड्न चाहेको अवस्थामा पाउन बाँकी पारिश्रमिक सहित ससम्मान विदाई गरि नेपाली मिडिया उद्योगमा सौहार्द वातावरण कायम राख्न एभिन्यूज व्यवस्थापनलाई युनियनले पुनः स्मरण गराएको छ ।
पत्रकार बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दिपक अर्यालले कार्यरत एभिन्यूज टेलिभिजनमा काम गर्ने वातावरण नभएको, समयमा पारिश्रमिक नपाएको र पारिश्रमिक माग्दा मगन्तेको व्यवहार व्यवस्थापनले गरिरहँदा आफूहरुले सामुहिक रुपमा सो संस्था छाडी प्राइम टेलिभिजनमा काम गर्न शुरु गरेको बताएका छन् । आफूहरुले अर्को टेलिभिजन च्यानलमा काम शुरु गरे लगत्तै एक दैनिक पत्रिकामा आफूहरुको चरित्र हत्या समेत हुनेगरि सामान वरबुझारथ गर्न आउन र दृश्य चोरीको समेत आरोप लगाएको पत्रकार त्रयले गुनासो गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रेस युनियन श्रम तथा श्रमजिवीको सम्मान हुनुपर्छ भन्ने कुरामा विश्वास राख्दछ । कुनै पनि मूल्यमा श्रमजिवीहरुको अपमान र अस्तित्व नस्विकार्ने कुराको विपक्षमा उभिन्छ । कार्यक्षेत्रमा श्रमजिवी र व्यवस्थापनको सुमधुर सम्वन्ध एक पक्षको प्रयासले मात्र सम्भव छैन भन्ने कुरा व्यवस्थापन पक्षले बुझ्न जरुरी छ । अतः श्रमजिवी साथीहरुको सम्मान र अस्तित्वमा चोट पुग्ने गरि भएका सबै गतिविधी बन्द गर्न र सञ्चार उद्योगमा सौहादपूर्ण वातावरण कायम राख्नका लागि नेपाल प्रेस युनियन एभिन्यूज टेलिभिजन व्यवस्थापनलाई आग्रह गर्दछ ।'