कांग्रेस केन्द्रीय समितिमा रहेकाहरुले लोभ देखाउँदा विवाद बढ्दै
जिल्ला सभापतिहरुको चेतावनी, ‘सहमती नलत्याइयोस’
प्रकाशित २०७५ माघ २६ शनिबार
748
Shares
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठकले पारित गरेको विषयलाई नचलाउन पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा भेला भएका उपलब्ध जिल्ला सभापतिहरुले पार्टी नेतृत्वले जिल्ला सभापतिहरुको सुझाव अनुसार नै विधानलाई महासमितिबाट पारित गरेको भन्दै पारित गरेको विषयलाई नचलाउन पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन ।
नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले सभापतिहरुसँगको सहमती अनुसार नै महासमिति सहजताका साथ सम्पन्न भएको भन्दै सहमतीलाई नतोड्न नेतृत्वलाई आग्रह सहितको चेतावनी दिइएको बताए ।
‘जिल्ला सभापतिहरुसँगको सहमतीलाई पार्टी नेतृत्वले नभुलोस, हेटौंडा हुँदै ककनी भेलाले दिएको सुझावलाई पार्टीको केन्द्रीय नेतृत्वले पालना गर्नुपर्छ, महासमिति समापन अघिको सहमती त्यही हो,’ केसीले भने ।
काभ्रे सभापति मधु आचार्यले महासमितिले पारित गरेको विषयलाई केन्द्रीय समितिले उल्ट्याउन खोज्नु हाँस्यास्पद भएको बताए ।
‘महासमितिले पारित गरेको विषय केन्द्रिय समितिले फेरी उल्ट्याउन खोजेको भन्ने सुनिदै छ, त्यसो हो भने असहज अवस्था आउँछ,’ आचार्यले भने ।
जिल्ला सभापतिहरु सहित महासमिति सदस्यहरुले केन्द्रीय समितिमा रहेका नेताहरु महाधिवेशनमा प्रतिनिधि बन्नका लागि बुथ तहबाट नै निर्वाचन मार्फत चुनिएर आउँनु पर्ने गरी विधानमा व्यवस्था गरिएको भन्दै सो विषयलाई नेतृत्वले उल्टाउन खोजेको बताएका हुन ।
महासमितिको निर्णय उल्टाउने कुरा आफूहरुले नमान्ने मुगका सभापति खड्ग बहादुर शाहीले बताए।यस्तै केन्द्रीय समितिमा एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्कोपटक पुनः उम्मेदवार बन्न नपाइने गरी महासमितिले विधान पारित गरेको शाहीले दाबी गरे।
महासमितिले पारित गरेको बिषयलाई केन्द्रीय समितिमा प्रवेश गराएर केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बन्न पुरानै व्यवस्था अनुसार स्वतः हुनेगरी व्यवस्था गर्नु पर्ने र बुथ तहबाटै निर्वाचन मार्फत चयन भएर आउनु पर्ने भन्ने विषयमा विवाद निकालिएको छ । केन्द्रीय समितिका पदाधिकारी सदस्यहरुले अनावश्यक लोभ देखाउँदा यो विषय विवादमा परेको छ।
जिल्ला सभापतिहरुले भने आफूहरुसँगको सहमती विपरित पार्टी नेतृत्वले निर्णय गर्न लागेको भन्दै उपलब्ध सभापतिहरुको बैठक बसेर पार्टी नेतृत्वलाई सहमतीको पालनामा ध्यान दिन दवाव दिएका हुन ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरु नै यस विषयमा विभाजित हुँदै आएका छन् ।