arrow

प्रचण्डको 'यू-टर्न ट्याक्टिकल मुभ' मात्रै

logo
हाम्राकुरा डेष्क,
प्रकाशित २०७५ माघ २६ शनिबार
prachanda-ccm-768x480.jpg

काठमाडौं। शुक्रबार राजधानीमा प्रचण्डले जे बोले, जुन लवज र भाषा प्रयोग गरे, त्यो सामान्य हुँदै होइन। बहुआयामिक हो। नाङ्लो ठटाएर हात्ती तर्साउने हैसियत र अवस्थामा छैनन् प्रचण्ड यतिबेला। कार्यकारी पदमा छैनन् त्यसैले पार्टीदेखि सत्तासम्म उनको हालिमुहाली चल्दैन। तर सेकेण्ड मेन भएर बस्न उनको इगोले दिँदैन। हदसम्मको छटपटिमा छन् उनी। 

प्रज्ञा प्रतिष्ठान जस्तो संस्थामा समेत प्रधानमन्त्री ओलीले आफु इतरका मान्छे छिराउने दया देखाएनन्। न प्रचण्ड, न नेपाल, न खनाल कसैका भनसुनका मान्छे परेनन्। सबै ओलीकै रोज्जा मान्छे परे। बेला बेलामा अध्यक्षद्वयको भेटवार्ता हुन्छ, पार्टी प्रतिवेदन तयार पार्नेदेखि एकता प्रकृया टुंगो लगाउने भन्ने विषयमा। तर ओलीको बलमिच्याईँ र जिद्दिपनले प्रचण्ड कायल हुँदै आएकाछन्। एक खालको फ्रष्टेशनको अबस्थाबाट गुज्रिँदो अबस्थामा छन्, प्रचण्ड।

युद्धको धम्की किन ?
भेनेजुएला विज्ञप्ती प्रकरणले प्रचण्डलाई थप रक्षात्मक स्थितिमा पुर्‍याएको अबस्था हो अहिले। राष्ट्रवादी क्रान्तिकारी भनाउन रुचाउने नारायणकाजीको उक्साहट र माधव नेपालको उचालाइमा परेर प्रचण्ड नराम्री फसेकै हुन्। ओलीले थामथुप पारिदिने प्रयास गरे, पार्टी र सरकारको तर्फबाट। तिनै ओलीले अमेरिकी राजदुत र्‍यान्डी बेरी सँग भेटघाटको चाँजो मिलाए। र, थामथुप पार्ने प्रयास गरे।

तर अमेरिकाले ओलीको कुरा पत्याएन। जुन स्वभाविक पनि थियो। अमेरिकी लबिइङले खुट्टा टेक्न नदिने छाँट देखिएपछि, ओलीले राष्ट्रिय टेलिभिजनबाटै प्रचण्ड चिप्लेको टिप्पणी दिए। उनले म मुलुकमा भएको भए त्यस्तो विज्ञप्ती आउँथेन भनेर प्रचण्डलाई होच्याए पनि। ओलीको टिप्पणीपछि प्रचण्डले एकखालको हिनताबोध गोचर गरेको प्रष्ट छ। उनले ओलीको बोलीको खण्डन गर्न गृहजिल्ला ताके र भनेः “पार्टी सचिवालय र परराष्ट्रले मेरै विज्ञप्तीको समर्थन गरिसकेको छ, व्यक्ति बोल्नुको अब अर्थ छैन”।

तर प्रचण्डलाई राम्रै थाहा छ, ओली सिंगो पार्टी भन्दा शक्तिशाली छन्, शिर्फ एक व्यक्तिमात्रै होइनन्। कारण पार्टी र सरकारमा मात्र ओली छन्, अरु ओलीका छायाँ मात्र। छायाँ वास्तविकता होइन, इलुजन मात्रै हो। वास्तविकता ओली हुन्। समकक्षी भनिएका पार्टी नेतृत्व र नेपाललाई मिलाइमिलाइ दानापानी सप्लाइ गर्ने पश्चिमा शक्तिको घेराउमा बेरिँदै आएपछि, प्रचण्डले पुरानो गर्जनको पुनरावृत्ति गरे “माओबादीलाई सिध्याइहालियो भनेर नसम्झिए हुन्छ, अर्को माओबादी जन्मिन्छ, जुन युद्ध मुलकले थेग्न सक्तैन”। प्रचण्डको यो चेतावनीको मुलतः तीन वटा निशाना छन्। 

पहिलो निशानाः पश्चिमा शक्तिको सरोकार मत्थर पार्ने।

दोश्रो निशाना : ओली सहित तत्कालिन एमाले लक्षित। सरकार छाड्न सक्ने संकेत। नेकपाबाट अलग्गिन सक्ने। उनले सीधै असन्तुष्टि राखेका छन्, संविधानको मर्म अनुसार स्थानीय तहलाई अधिकार दिइएन र सरकारको परफरमेन्स गतिलो हुँदै भएन। शान्ति प्रक्रिया बिथोलिन लाग्यो। अब त्यसको विकल्प र पुरक तुरुप उनले फालेका छन् राष्ट्रिय
सहमति नामको।

तेश्रोः नेत्रविक्रम चन्द विप्लब, मोहन वैद्य किरण, गोपाल किराँती लगायतका खरा पुराना दोस्तसँगको मित्रता विस्तार (प्रचण्डले चेतेछन् भन्लान् भनेर) र शक्ति संचय।

के गर्न सक्छन् त प्रचण्डले ?

प्रचण्ड यतिबेला घाइते बाघ होइनन्, भोका बाघ हुन्। भन्छन् नि बाघ भोको भयो भनेर फट्याङ्ग्रा खाँदैन। उसलाई शिकार नै गर्नुपर्छ। ताजा शिकार। तर तत्काल ताजा शिकार गर्न सक्ने अबस्थामा उनी छैनन्। देशकाल परिस्थिति अनुकुल छैन। त्यसकारण परिस्थित सिर्जना गर्ने पहिलो स्ट्राइक हो यो, प्रचण्डको। पहिलो स्ट्राइकपछिको अबको उनको कदम ओलीलाई गलाउने नै हो। त्यसका लागि उनले राम्रो तुरुप फालेका छन् राष्ट्रिय सहमतिको।

प्रचण्डको सहमतिको एजेण्डाको सीधा अर्थ अब काँग्रेसलाई साथमा लिएर जाने नै हो। त्यसले ओलीसँगको शक्ति सन्तुलनमा प्रचण्ड माथि पर्छन्। तर काँग्रेससँगको सहकार्य ओली सरकार गिराउने र काँग्रेको आडमा अबको ४ वर्ष प्रधानमन्त्री बन्ने मूभ भने उनका लागि अपरिपक्व बन्न सक्छ।

त्यसका लागि सानोतिनो तयारीले पुग्दैन। ठुलै जोखिम मोल्नुपर्छ उनले। तर ओली सरकारको अलोकपृयता र हवाइ गफले आजित जनताले प्रचण्डले यो मूभ चालिहाले भनेपनि, ननिको मान्दैनन्। शान्ति प्रकृयाका बाँकी काम (सत्य निरुपण, बेपत्ता छानबिन, मेलमिलाप) को विषय किनारा लगाउन काँग्रेसको साथ सहयोग बिना अपुरो रहने निश्चित छ।

अर्को कुरा काँग्रेसको साथ पाउँदा उनीमाथिको पछिल्लो पश्चिमा दबाव मत्थर बन्दै जान सजिलो हुनेमा उनको विश्वास छ।  राष्ट्रिय सहमतिको एजेण्डा र सरकारप्रति आलोचक बन्दै गर्दा र राष्ट्रिय सहमतिको मुद्दा फिँजाउँदा तल्लो तहसम्मै पार्टी एकिकरण प्रकृयाको विषयमा एकशब्द नबोल्नु के अर्थपूर्ण छैन? बिहीबार चितवनमा बोल्दा समेत सरकारले राम्रै गरिरहेको छिट्टै एकिकरण हुने बताएका थिए। यू टर्न भए एकाएक, प्रचण्ड।

बर्दिबासको कार्यक्रम रद्द गरेर किन काठमाडौं ? काठमाडौंमा आयोजिक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा प्रचण्डले भनेका थिए, “मौसमको खराबीका कारण आज जहाज पनि उडेका छैनन्, उड्ने संभावना पनि छैन। हेलिकप्टरमा जाने भनेको हेलिकप्ट त झन संभावनै छैन भनेपछि यहीं कार्यक्रमा केन्द्रित हुने अबसर जुर्‍यो”। खासमा प्रचण्ड बर्दिबासमा हुने भनिएको कार्यक्रममा विमान नपाएर नगएका होइनन्। प्रचण्डले भने जस्तो विमान नचलेको हुँदै होइन।

२०७५ माघ २५ गते शुक्रबार काठमाडौंबाट हुने नेपालगञ्ज र भैरहवा बाहेक (त्यो पनि बेलुकीको मात्रै) बाँकी क्षेत्रका कुनै पनि नियमित डोमेष्टिक उडान रद्द नभएको त्रिभुवन विमानस्थलले नै जानकारी दिएको छ (राती ९ बजे)। पानी पर्दा विमान उडेन होला भन्ने प्रचण्डको अनुमान र बहाना मात्रै हो। वास्तविकता होइन। काठमाडौंमै भएको पुस्तक विमोचनमा बोल्ने बहानाका लागि प्रचण्डले विमान पाइएन भनेर ढाँटेका हुन्। उताका कार्यकर्ता रिसाउलान भनेर बहाना बनाउनु पर्ने अवस्था आयो सायद। 

तर किन त ?
वास्तविकता होः प्रचण्डले जे सुनाउन खोजे, ती कुरा बर्दिवासका श्रोताका लागि मात्रै थिएन। राजधानी बस्दै आएका पश्चिमा अधिकारी, प्रधानमन्त्री ओली, पार्टीका अरु शीर्ष नेता अनि काँग्रेसका नेताहरुका लागि थियो। राजधानीमै बोल्दा राष्ट्रिय अन्तर्राष्ट्रि मिडिया कभरेज राम्रो हुने र आफ्नो सन्देश छिटो र प्रभावकारी रुपमा फैलने पनि उनलाई राम्रैसँग थाहा थियो। त्यो, भयो पनि। 

अन्तमा, मुलुककै ठूलो पार्टीको आधा अध्यक्ष बन्दापनि प्रचण्डको शक्ति क्षयिकरणको क्रममा छ। निश्चित कुराः अब प्रचण्ड आफैं नयाँ माओबादी जन्माएर युद्धमा जान सक्दैनन्। प्रचण्डकै नेतृत्वमा लड्न, प्रचण्डकै निम्ति बलिदान दिने अब औंलामा गन्न सक्ने पनि छैनन्। उनले अब चाल्ने भनेको ट्याक्टिकल मुभ नै हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ