arrow

पाँच करोडको लागतमा गुरुकुल भवन निर्माण, सूचना अधिकारी पनि राखिने

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
mafesh_Ashram.jpg

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रममा दाताको सहयोगमा पाँच करोडको लागतमा गुरुकुल निर्माण गरिएको छ । संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले जानकारी दिए। 

संस्कृत शिक्षाप्रति युवामा आकर्षण जगाउन र शिक्षामैत्री वातावरण बनाउनका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि विभिन्न सहयोगी दाताबाट रकम सङ्कलन गरिएको थियो । 

बयालीस कोठा रहेको सो भवनको ३५ कोठा सहयोगी दाताले आफ्ना पितृको सम्झनामा निर्माण गरिदिएका थिए । बाँकी रकम भने विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको आश्रमका सल्लाहकार एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । उक्त भवनमा कक्षा ६ देखि आचार्य (एमए) सम्मको संस्कृत शिक्षाको पढाइ गरिने भएको छ । 

सूचना अधिकारीको नाम र नम्बर राखिने 
जिल्लास्थित सबै सरकारी कार्यालयका सूचना अधिकारीको नाम र नम्बर कार्यालय परिसरमा प्रष्ट देखिने गरी राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलपछि सूचना अधिकारीले आ–आफ्नो कार्यालय परिसरमा फोटोसहितको नाम र नम्बर राख्ने प्रतिबद्धता जनाएका हुन् । 

जनतालाई सहजरूपमा सूचनामा पहुँच पुर्‍याउन नाम र नम्बर देखिने ठाउँमा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। सरकारी कार्यालयमा माग गरिने सूचना र दिइएको सूचनाको छुट्टै लगत राखी सूचना अधिकारीबाट प्रमाणित गरी त्यसको विवरण राख्ने र सूचनाको पहुँच पुर्‍याउन आधुनिक प्रविधिको प्रयोग गरिनेमा पनि सूचना अधिकारीले प्रतिबद्धता जनाएको उनले बताए । 

सूचना माग्न एउटा मात्र निवेदन 
सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम सूचना माग गर्दै जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ मा एउटा मात्र निवेदन दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा चालू वर्षमा सूचनाको हक प्रयोग गरी एउटा मात्र निवेदन दर्ता भएको समन्वय समितिका सूचना अधिकारी अनिल खनालले जानकारी दिए । यसैगरी व्यास नगरपालिकामा गत आर्थिक वर्षमा सूचनाको हक प्रयोग गरी पाँच सूचना माग गरिएकामा यस वर्ष भने एउटा पनि निवेदन दर्ता नभएको सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ