काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् ।
आयोगकी सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुने गरी माघ २४ गते राजीनामा दिएका हुन् ।
आयोगको म्याद पनि यही माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । तर अध्यक्ष र सदस्यले आयोगकै सचिवालयमा राजीनामा बुझाएका छन् ।
सरकारले दुवै आयोगको म्याद एक वर्ष थप गर्ने तथा वर्तमान पदाधिकारीको म्याद चैत मसान्तसम्म रहने गरी आयोगको ऐन संशोधन गर्न बनेको विधेयक दुवै सदनमा पेश भइसकेको छ ।
आयोगमा सशस्त्र द्धन्द्धका समयका ६३ हजार मुद्दा दर्ता छन् । चार वर्षसम्म मुद्दा संकलन गर्ने बाहेक केही पनि हुन नसकेपछि आलोचना बढ्दो छ ।
झाले २७ गते नै के गर्ने भन्नेबारे टुंगो लाग्ने बताएकी छिन् । यता संचारमन्त्री गोकुल बास्कोटाले भने बिहीबार नियमित पत्रकार सम्मेलनमा कसैले राजीनामा दिँदैमा आयोगमा केही फरक नपर्ने बताएका थिए ।