देवघाटधाम विराट् ज्ञानमहायज्ञमा विशिष्ट व्यक्तिहरु पुग्दै
स्वदेशीसँगै विदेशी यजमान पनि
पर्वतराज घिमिरे
प्रकाशित २०७५ माघ २४ बिहिबार
865
Shares
चितवन। देवघाटधाम विराट ज्ञानमहायज्ञ २०७५ को तेस्रो दिन समाप्त भएको छ। रातीदेखि भएको वर्षाका कारण केही प्रभावित भए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ भने धान्याचल, तण्डुलाचलहरूमा विशेष प्रभाव परेको देखिन्छ ।
चितवन आसपासबाट दर्शनका लागि आउने भक्तजनहरूको संख्या न्यून भए तापनि इटहरी, ललितपुर, झापा, जाउलाखेल लगायत स्थानहरूबाट भक्तजनहरू दर्शनका लागि उल्लेख्य संख्यामा देवघाटधाम आएका छन् ।
महायज्ञको दर्शनका लागि आउने विशिष्ट व्यक्तित्वहरूमा पशुपतिनाथका मूल पुजारी गणेश भट्ट आएका थिए भने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, पञ्चाङ्ग निर्णायुक समितिका अध्यक्ष लगायत धर्म–संस्कृति एवं संस्कृतशिक्षासँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूले यज्ञको दर्शन गरे। २२ गते राष्ट्र्रपतिबाट उद्घाटन भएको विराट् महायज्ञमा देशका विभिन्न भागहरूबाट दर्शन गर्न आउने व्यक्तिहरूको घुइँचो लागेको छ। महायज्ञमा १० जना विदेशी यजमानहरू नियमित भागवतको पारायण श्रवण गरिरहेका छन् ।
महायज्ञको सहयोगको लागि र गुरुकुलको अक्षयकोषको वृद्धिका लागि दान गर्ने दाताहरूले पनि सहयोग राशि उपलब्ध गराइरहेका छन् । २४ गते विभिन्न दाताहरूले उल्लेख्य रकम दान सहयोग गरे भने कवीन्द्रराज जोशीले एघार लाख, एघार हजार एक सय एघार उपलब्ध गराए।
महायज्ञमा प्रतिदिन १०८ श्रीमद्भागवत पारायण, नेपालमै पहिलो पटक उखुको रसद्वारा महारुद्राभिषेक, धान्याचल, तण्डुलाचल, गायत्री लक्ष्यहवन, शतचण्डी जस्ता विशेष यज्ञहरू सञ्चालन भइरहेका छन् । यज्ञको दर्शनका लागि विशिष्ट व्यक्तिसहित हजारौँ श्रद्धालुहरूको आगमन भइरहेको छ । माघ महिनाको गुप्त नवरात्र एवं श्रीपञ्चमी लगायत विशेष पर्वहरूको आसपासमा आयोजना गरिएको यो महायज्ञ अत्यन्त महत्त्वपूर्ण रहेको शास्त्रविद्हरू बताउँछन् ।
महायज्ञमा प्राध्यापक शिवगोपाल रिसाल, पूर्वसचिव शरद्कुमार भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरू कर्ताको रूपमा बसेका छन् भने विभिन्न साधुसन्त एवं वक्ताहरूको प्रवचनले यज्ञ विशिष्ट बनेको छ । यज्ञको अवसरमा गुरुकुलका ससाना बटुकहरूको प्रतिभाको प्रदर्शन, सम्भाषण एवं विशिष्ट व्यक्तित्वहरूको समुद्बोधन पनि मिसिनाले यज्ञमा थप शोभा थपेको छ । यज्ञको सहयोगको लागि प्रतिदिन १५० भन्दा बढी व्यक्तिहरूले स्वयंसेवा गरिरहेका छन् भने महेश संन्यास आश्रम परिसरमा प्रतिदिन दुई हजार व्यक्तिहरू आवासीय सुविधासहित बसिरहेका छन् । यज्ञको भोजनालयमा प्रतिछाक ६ हजार भक्तजनहरूले भोजन ग्रहण गरिरहेका छन् ।
महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलम् को रजतवर्ष महोत्सवको अवसरमा आयोजित यो महायज्ञ विधि, एवं उपस्थिति सबै दृष्टिले विराट् रहेको वक्ताहरूले बताएका छन् ।