नागरिकस्तरमा ज्ञानेन्द्रमोह बढ्दो, कोमल बिरामी भएपछि आफै गाडी हुइँकाएका ज्ञानेन्द्रले गाडीभित्रैबाट हल्लाए हात
स्वागतका लागि ल्याएको फूल कसैले रुखको टोड्कोमा अड्काए, कसैले बाटामा हुर्याए त कसैले गेटमा लगेर राखिदिए
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ २४ बिहिबार
473
Shares
झापा। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत तथा सम्मान गर्न नपाउँदा उनका कार्यकर्ता तथा शुभेच्छुक निराश भएर घर फर्किएका छन्। बुधबार बेलुका पूर्वराजा ज्ञानेन्द्र रानी कोमलसहित झापाको दमकस्थित चियाबगान आउँदै गरेको खबर थाहा पाएर हजारौं सुभेच्छुक स्वागत गर्न फूलमाला र खादा लिएर लाम लागेका थिए।
तर उनका सुभेच्छुकहरुलाई भेटै नदिइ शाह दमक दरबार हुइँकिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश नं १ का अध्यक्ष राम थापासहित हजारौं कार्यकर्ता पुष्पगुच्छा लिएर गेटमा बसेका थिए। शाह आफैले सवारी चलाएर कडा सुरक्षा व्यवस्थासहित दमक आएका थिए। पूर्वराजा ज्ञानेन्द्रले स्वागतका लागि बसेका जनतालाई ज्ञानेन्द्रले गाडी भित्रबाटै हात हल्लाउँदै दमक उनको निजी चिया बगान प्रबेश गरेका थिए।
पुष्पगुच्छा अर्पण गराउन नपाएका कार्यकर्ताहरुले ज्ञानेन्द्रलाई स्वागत गर्न ल्याएका फूलमाला बाटैमा फालेर हिँडेका थिए। स्वागत गर्न नपाएपछि निराशा हुँदै राप्रपाका कार्यकर्ताहरुले भने, ‘यत्रो बेर उहाँको सम्मानको लागि कुरेर बस्यौं, उहाँले बास्तै गर्नुभएन। अब यो फूल के गर्ने हामी जाने कि बस्ने ? भेट दिएको भए के बिग्रन्थ्यो र ?’
पूर्व राजाप्रति सद्भाव भएपनि स्वागत गर्न नपाएकोमा दुःख लागेको एक युवाले बताए । केही बेरपछि दरवारमै गएर फूलमाला दिने कुरा भएपनि शाहको व्यस्तता र पूर्वरानी कोमल अस्वस्थ भएको खबर आएपछि कार्यकर्ताहरु लाखापाखा लागेका थिए।
यसैबीच उर्लाबारीका पूर्ण वाईबाले भने केही फूल भेला पारेर दरवारको गेटमा लगेर सुरक्षाकर्मीलाई छोडिदिएका थिए। कोही ब्यक्तिले भने नजिकैको रुखको टोड्कोमा आफुले ल्याएको फूल माला चढाएर नमन गर्दै हिँडेका थिए।