न्युनतम पारिश्रमिक बृद्धी रोक्ने गरि दिएको अन्तरिम आदेश प्रति पत्रकार महासंघको ध्यानाकर्षण
प्रकाशित २०७५ माघ २३ बुधबार
466
Shares
काठमाडौं। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार र मिडिया हाउसमा कार्यरत कर्मचारीको न्युनतम पारिश्रमिक वृद्धि सम्बन्धी सरकारी निर्णय रोक्न दिएको आदेश प्रति ध्यानाकर्षण भएको जनाएको छ। सोही परिप्रेक्ष्यमा सर्वोच्च अदालतले २०७५ माघ २१ गते श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिक सम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न दिएको अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश बिष्टद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ।
बिज्ञप्तीमा भनिएको छ सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक ऐनले किटान गरे अनुरुप नै हुनुपर्छ भन्ने महासंघको दृढ मान्यता रहेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम लागू गर्न नेपाल राजपत्रमा प्रकाशित सूचना समेत रोक्नेगरी सर्वोच्च निकायबाट जारी उक्त आदेशले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको मर्म र भावनामाथि आघात पुगेको महसुस भएको छ। अतः उक्त आदेश यथा समयमै प्रक्रियाबमोजिम पुनर्विचार भई सम्मानीत सर्वोच्च अदालतबाट आवश्यक भूमिका निर्वाह हुनेमा महासंघ आशावादी रहेको छ।
यसैगरी मुलुकी फौजदारीसंहिता ऐनका प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने विभिन्न प्रवाधानमाथि संशोधनका लागि सरकारद्वारा गठित कार्यदलको सुझाव अनुरुप अविलम्ब सशसोधन प्रक्रिया अघि बढाउन महासंघ सम्बद्ध पक्षसंग माग गर्दछ। यस्तै नवीकरण हुन नसकेका अनलाइन मिडियाको सहजढंगले नवीकरण प्रक्रिया सुरु गर्न पुनः महासंघ सूचना विभागको ध्यानाकर्षण गर्दछ।
यस्तै सरकारले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न ल्याएको प्रस्तावित विधेयकका विषयमा समेत महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विधेयकमा रहेको दफा ५ को उपदफा १ र २ का कतिपय प्रावधान अभियक्ति स्वतन्त्रताको मूल्य मान्यतासँग मेल नखाने देखिएकाले सच्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ।
त्यस्तै विगत लामो समयदेखि रोकिएको लोकल्याणकारी विज्ञापन यथाशीघ्र सञ्चारमाध्यमका लागि उपलब्ध गराउनसमेत महासंघ जोडदार माग गर्दछ।