arrow

देश टुक्राउने शक्ति सक्रिय : गृहमन्त्री

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
badal1.JPG

सर्लाही। गृहमन्त्री रामबहादुर थापा (बादल) ले देश टुक्राउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आएको बताएका छन्  । मंगलबारदेखि सर्लाहीमा सुरु भएको दोस्रो ऐतिहासिक मूर्तिया महोत्सवको उद्घाटनगर्दै गृहमन्त्री थापाले केही शक्ति देशलाई टुक्राउने र राज्यसत्ता हातमा लिने प्रयासमा लागेको बताएका हुन् ।

जनताको हातमा राज्य सत्ता आएको केही पक्षलाई मन नपरेको भन्दै गृहमन्त्री थापाले अहिलेसम्मका प्राप्त उपलब्धीको रक्षा गर्न र देशलाई समृद्ध बनाउन एकजुट हुन आह्वान गरे। उनले निर्वाचनबाट पराजित शक्तिहरु र केही विदेशी शक्तिहरु समेत दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारबाट सन्तोष नरहेकाले सरकार गिराउने खेलमा लागि परेका आरोप लगाए ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली अवधारण अनुसार देशको विकास र सुशासनका निम्ती सबै नेपाली नागरिकले एक ढिक्का भएर सरकारलाई सहयोग गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ । उनले जनताको शोषण गर्न पल्किएकाहरु संघीय गणतन्त्रलाई उल्टाएर पुरानै व्यवस्था लागु गर्न चाहिरहेका तर्क गरे।

हेलिकप्टर चढेर प्रमुख अतिथीका रुपमा महोत्सवको उद्घाटन गर्न पुगेका गृहमन्त्री थापाले मूर्तियालाई पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास र सर्लाहीमा शान्ति सु–व्यवस्था कायम गर्न केन्द्र सरकारका तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

 महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष तुलसी प्रसाद लुइटेलको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य रामेश्वर राय, क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा लगायतको आतिथ्यता रहेको थियो ।

 मूर्तियास्थित ऐतिहासिक मुक्तेश्वर बाबा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव माघ २८ गतेसम्म चल्नेछ । विभिन्न जातजातिको झाँकी तथा नृत्यसहित शुभारम्भ गरिएको महोत्सवमा ५५ वटा स्टल राखिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक पुण्य प्रसाद खतिवडाले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ