काँग्रेसको मेगा प्रोग्रामको समयमा किन पारिन्छ नेकपाको कार्यक्रम ?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ माघ २१ सोमबार
656
Shares
काठमाडौं । दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, यी दुई दलको पेरिफेरिमा घुमेका हुन्छन् मुख्यतया नेपाली मिडियाहरु । मिडियामा पनि भिन्न भिन्न क्षेत्र हुन्छन् । तर, पनि सबै क्षेत्रमा राजनीतिको प्रभाव पर्ने भएकोले अन्ततः सबै विषय राजनीतिमा नै गएर केन्द्रीत हुने गरेका छन् ।
मुख्यतयाः आमसञ्चारले अन्य दलहरुको भन्दा पनि बढी प्राथमिकता यही दुई दललाई दिने गरेको छ । कुनैपनि दलको कार्यक्रम हुँदा मिडियाको ध्यान सोही दलको कार्यक्रमतर्फ केन्द्रीत हुनु विश्वभरकै आम सञ्चार संस्थाको अभ्यासको विषय हो । जुन नेपालमा पनि भिन्न छैन ।
तर, पछिल्ला केही महिनामा सत्तारुढ दल नेकपाको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टीगत कार्यक्रम जुध्न थालेपछि यसभित्रको जड कुरा के हो ? भन्ने विषयमा समेत चर्चा सुरु हुन थालेको छ । सामान्यतयाः यो बिषय सामान्य नै हो । दुई पार्टीको कार्यक्रम एकै पटक हुनुले त्यस्तो तात्विक महत्व राख्दैन । तर, यसलाई गम्भीर रुपमा हेर्ने हो भने यसको जड कुरा झनै रोचक हुने देखिएको छ ।
यही मंसिर २९ गतेदेखि भएको काँग्रेस महासमिति बैठक बस्दै थियो । महासमिति बैठक महाधिवेशन पछिको सबैभन्दा ठूलो फोरम थियो । यो भेलाले पास गर्ने एजेण्डाहरुको विषयमा धेरैलाई चासो हुनु स्वभाविकै हो । यस्तो अवस्थामा नेपाली मिडियाहरुको बढी ध्यान सोही कार्यक्रम तर्फ जानु पनि स्वभाविक नै थियो ।
तर, यता प्रतिपक्षी दल नेपाली काँग्रेसले यस्तो महत्वपूर्ण बैठक राखिरहँदा सोही दिन अर्थात् मंसिर २९ गतेदेखि नै नेकपाले पनि आफ्नो स्थायी कमिटीको बैठक राख्यो । नेकपाले यस विषयमा केवल बैठक मात्रै राखेन धेरैको ध्यान आफुतिर तान्ने प्रयास गर्यो ।
यसमा पनि काँग्रेसको महासमिति बैठक जति दिन लम्बिँदै जान्छ त्यति नै विवाद लम्बिएको देखाएर स्थायी कमिटी बैठक समेत लम्ब्याउँदै लैजानुले पनि नेकपाको चरित्रमाथि प्रश्न चिह्न खडा भएको छ ।
दोस्रो घटना चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसी अनसनमा बस्दै थिए । प्रमुख प्रतिपक्षी भएको हिसावले उनको जीवन रक्षाको माग गर्दै काँग्रेसले सरकारलाई दबाब दिने स्पष्टै संकेत थियो । त्यसमा पनि गोविन्द केसीको पक्षमा र नेकपाको विपक्षमा मिडियाहरुले धेरै चासो दिने निश्चित नै थियो । किनकी कुनै स्वार्थ विहीन रुपमा अनसन बसेका डा केसीको माग नै त्यस्तै जायज थिए ।
त्यो बेलामा मिडियाहरुको ध्यान अन्यत्रै केन्द्रीत गर्नको लागि सरकारले नै आपराधिक पृष्ठभूमिको एउटा अनसनकारी खडा गर्यो । यद्यपि ती अनसनकारीको समयमा नै पहिचान खुलेपछि उनको प्रचार त कसैले पनि गरेन । तर, पनि सरकारको मिडियाको ध्यान अन्यत्र मोड्ने प्रपञ्च भने केही हदसम्म सफल भएको देखिन्छ ।
त्यसपछि सोमबार काँग्रेसको देशभरी हुने भनिएको प्रदर्शनको समयमा पनि नेकपाले आफ्नो सचिवालय बैठक राखेर मिडियाको ध्यान एकलौटी रुपमा काँग्रेसको विरोधको कार्यक्रममा जान नदिने योजना बुन्यो। सोमबारको बैठकले भेनेजुयलाको विषयमा एउटा सामान्य निर्णय गरेको छ । तर, केही हदसम्म प्रतिपक्षीको विरोध कार्यक्रमलाई प्रभावित बनाउन सफल भएको देखिन्छ ।
यसरी जव जव प्रतिपक्षीको ठूला ठूला कार्यक्रमहरु हुन्छ । त्यतिबेला नेकपाले गर्ने आफ्नो पार्टीको बैठकलाई संयोग भन्दा पनि नियोजित नै मान्न सकिने आधारहरु धेरै देखिएका छन् । जसरी हिन्दूहरुको ठूला ठूला पर्वहरुको दिन क्रिश्चियनहरुको चर्चमा आफ्ना धर्मालम्बीहरुलाई बोलाएर गीत गाएर बस्न लगाईन्छ । त्यसैगरि नेकपाले कार्यक्रम जुधाएको आकलन गर्न थालिएको छ । आफ्ना अनुयायी हिन्दू धर्मको पूजामा सहभागी नहुन् भनेर मिसनरिहरुले कार्यक्रम राखेको जस्तै नेकपाको रणनीति पनि विपक्षीको मात्रै चर्चा नहोस् भनेर नै यस्ता कार्यक्रमहरु नियोजित रुपमा राख्ने गरिएको हैन भन्न सक्ने अवस्था देखिँदैन ।