'जहाज र रेलको सपना देखाउने सरकार भ्रष्टाचारमा लिप्त'
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ २१ सोमबार
873
Shares
पाल्पा । बहुमत प्राप्त सरकारका गतिविध विरुद्ध नेपाली कांग्रेस पाल्पाले तानसेनमा जनलह नै उतारेको छ । संदीय मार्यादा कायम गर्न नसकेको, महंगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अनुरुप पाल्पामा पनि विरोध प्रदर्शन गरेको हो ।
र्यालिमा कांग्रेसका भातृ संघसंगठनका प्रतिनिधि र गाउँ गाउँबाट आएका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली सदरमुकाम परिक्रमापछि शितलपाटी पुगेर कोणसभामा परिणत भएको हो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सांसद तथा केन्द्रीय सदस्य हरिप्रसाद नेपालले जनतालाई पानी जहाज र रेलको सपना देखाउने वर्तमान बहुमत प्राप्त सरकार भ्रष्टचारमा लिप्त रहेको बताएका छन् ।
नेपालले देशमा अर्वौको भ्रष्टाचार हुँदा समेत सरकार मौन बस्नुले सरकार नै भ्रष्टचारमा लिप्त रहेको बताएका हुन् । उनले जनताबाट बहुमत प्राप्त कम्युनिष्टहरु सरकारमा गए पछि भ्रष्टचारीहरुलाई नियन्त्रण गर्नु सट्टा उल्टै संरक्षण गरेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद विरबहादुर रानाले सरकार जनताको मन मनमा नभई सडकका पोल–पोलमा रहेको बताएका छन् ।
उनले दुई तिहाई प्राप्त सरकारले हिंसा, आतंका महंगी र भ्रष्टचारको संरक्षण गरेकाले अब नेपाली जनता र कांग्रेस चुप लागेर नबस्ने बताए । सभापति रानाले लोकतन्त्र कुनै हुकुम र अहंकार नभई विधि, प्रक्रिया र संस्कार भएकाले लोकतन्त्रलाई आर्कमण नगर्न कम्युनिष्टहरुलाई चेतावनी दिए । उनले विद्यालयमा विद्यार्थीहरुलाई पठाउन हिड्ने प्रदेश पाँचका मूख्य मन्त्री आफै गाडी प्रकरणको भ्रष्टचारलाई प्रोत्साहन गरेको आरोप लगाए ।
कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराई, महासमिति सदस्य सुनिता अधिकारी लगायतले उखान टुक्काले जनतालाई न्याय दिन नसकिने भन्दै जनतालाई सुशासन र न्यायको प्रत्याभूति दिलाउन सुरक्षाको प्रवन्ध मिलाउन सरकारलाई चेतावनी दिएका छन् । कार्यक्रम पार्टी सचिव अजयमान कर्मचार्यले गरेका थिए । संदीय मार्यादा कायम गर्न नसकेको, महंगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अनुरुप पाल्पामा पनि विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।
सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै कांग्रेसले शक्ति प्रदर्शन गरेको हो ।