७७ जिल्लामै कांग्रेसको शक्ति प्रदर्शन, कसले कहाँ संवोधन गर्दै, यी हुन् १६ मुद्धा
प्रकाशित २०७५ माघ २१ सोमबार
524
Shares
काठमाडौं। नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो।
काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतबार संसद बैठकमै सरकारलाई चुनौती दिँदै भनेका थिए – प्रतिपक्षी कहाँ छ भनेर अब काँग्रेसले सडकदेखि सदनसम्म देखाउँछ। उनले सरकारले प्रतिपक्षीलाई जस्तो व्यवहार गर्छ प्रतिपक्षले पनि त्यस्तै व्यवहार गर्ने जनाएका थिए ।
७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।
काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।
कसले कहाँबाट संवोधन गर्दै ?
– वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् ।
–उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् ।
–महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्।
–पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।
–पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तेह्रथुममा सम्वोधन गर्दैछन् ।
–केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्
–केन्द्रीय सदस्य नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् ।
–केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।
केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।
सरकारको विरुद्धमा माघ १३ गते बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।
के के हुन् १६ वटा मुद्दा ?
काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् ।
यही सेरोफेरोमा काँग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।