काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ। युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो। एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो। युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई-दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए। ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए।
यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए। बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई-दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक÷एक विकेट लिए। यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो।