बिद्यार्थीको विरोधः आगजनी, पक्राउ अनि फेरि आगजनी र पक्राउको श्रृङखला
प्रकाशित २०७५ माघ १९ शनिबार
226
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघले काठमाडौं पोखरा लगायत देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा क्षती पुर्याएको छ। नेविसंघले राजधानी काठमाडौंको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको छ भने कास्की, बाँके र धनकुटामा सरकारी गाडीमा आगजनी गरिएको छ।
नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले केन्द्रीय समितिको निर्णय अनुसार शनिबार सडकमा भेटिएका सरकारी गाडीको साँचो खोस्ने क्रममा कतिपय ठाउँमा अप्रिय स्थिति सिर्जना भएको बताए। केन्द्रीय नीति अनुसार काठमाडौंमा प्रधानमन्त्री कार्यालयका सचिव सहित ६ सरकारी गाडीको साँचो लिइ ५ वजे पुनः सम्वन्धित सवारी चालकलाई नै साँचो बुझाइएपनि कतिपय ठाउँमा स्थिति अप्रिय बन्दा आगजनी समेत भएको बताए।
विदर्यार्थी नेता मनिष सिंखडाले बुद्धनगरमा अप्रिय स्थिति हुनुमा सवारी चालकहरुले आन्दोलनका कार्यक्रमको बारेमा वताउँदा वताउँदै अटेर गरेपछिको परिणाम बताए।
नेविसंघका अध्यक्ष नैनसिंह महरले आन्दोलनका क्रममा कतिपय ठाउँमा भएका अप्रिय घटनाका कारण आगजनी भएकामा दुखः व्यक्त गर्दै त्यसैलाई आधार बनाएर गिएको धरपकडको विरोध जनाएका छन्।
प्रहरीले आगजनीमा संलग्न नेविसंघका १३ कार्यकर्ता पक्राउ गरेको महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार कास्कीका निवर्तमान जिल्ला अध्यक्ष पर्शुराम बस्नेतसहित पाँचजना कार्यकर्ता पक्राउ परेका छन् भने बाँकेमा जिल्ला अध्यक्ष पूर्ण आचार्यसहित तीनजना पक्राउ परेका छन्।
सुर्खेतमा नेविसंघ केन्द्रीय सदस्य अनिल बहादुर शाहीलाई विहान प्रहरीले नियन्त्रण लिएको थियो। उनलाई साँझ रिहा गरिएको छ। मुख्यममन्त्रीको गाडीमा माफिया सरकार लेखेको र शनिवार विहान सरकारी गाडीको साँचो खोसेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसैगरी धनकुटामा जिल्ला अध्यक्ष बालानन्द दाहालसहित पाँचजना पक्राउ परेको अर्का विदर्यार्थी नेता निरंजन थापाले जानकारी दिए। विदाको दिन सरकारी सवारी साधन चल्न नदिने भन्दै नेपाल विद्यार्थी संघ धनकुटाले धनकुटको सहिद भिम नारायण चौकबाट दाहाल सहित पाँच जनालाई नियन्त्रणमा लिई पाँच घण्टा पछी छाडेको हो। सहिद भीम नारायण चौकमा धनकुटा नगरपालिकाको गाडी र केही सरकारी सवारी साधनलाई नियन्त्रण लिएपछि प्रहरीले नेपाल विद्यार्थी संघ धनकुटका जिल्ला अध्यक्ष बालानन्द दाहाल,सचिव सरोज धमला, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका नेताहरु केपी पराजुली, दिनेश बिक्रम थापा, डीबी कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई पाँच घण्टा पछि छाडेको नेविसंघ धनकुटाका अध्यक्ष बालानन्द दाहालले वताए।
राजधानीबाट भने प्रहरीले आगजनीमा संलग्न कसैलाई पक्राउ गरेको छैन। बौद्ध क्षेत्रमा दुजाङ शेर्पाको नेतृत्वमा प्रदर्शन भएको छ। शुक्रवार राँके जुलुस पनि निकालिएको थियो।
पक्राउ परेका विद्यार्थीहरुको तत्काल रिहा नगरे विदर्यार्थीहरुले अझ कडा कार्यक्रम लिएर आउने नेविसंघका नेता शुसिल भट्टले चेतावनी दिएका छन्। प्रहरीले भने आगजनी र तोडफोडमा संलग्नलाई पक्राउ गरेको जनाएको छ। विद्यार्थीहरु भने पक्राउ गरिएकाहरुलाई नछोडे स्थिति थप जटिल बन्ने चेतावनी दिएका छन्। तर यो क्रमलाई हेर्दा तोडफोड आगजनी पक्राउ अनि फेरि तोडफोड र आगजनीको क्रम हुने देखिएको छ।