प्रधानमन्त्रीको लन्च मिटिङमा किन गएनन् अमेरिकी राजदूत ?
प्रकाशित २०७५ माघ १८ शुक्रबार
519
Shares
काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको विषयमा जारी गरेको विज्ञप्तीबाट रुष्ट बनेको अमेरिकाको कूटनीतिक दूत प्रधानमन्त्री केपी शर्मा ओलीको लन्च मिटिङमा शुक्रबार देखिएनन् । राजधानीको अन्नपूर्ण होटलमा कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर गरिएको बैठकमा अमेरिकी राजदूत रैंडी डब्ल्यु बेरी नदेखिएपछि धेरैले यसमा आ–आफ्नै अड्कलबाजी लगाएका छन् । कार्यक्रममा अमेरिकी दूतावासका डिसिएम मिचेल सी गोन्जालेसलाई पठाएका थिए ।
विज्ञप्ती पछि नेकपाप्रति सशंकित रहेको अमेरिका र युरोपियन मुलुकहरुले माघ १२ गते एक विज्ञप्ती निकालेर सरकारको धारणा माग गरेको थियो । सोही विषयमा सरकारले गत १५ माघमा एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार कुनैपनि सार्वभौम मुलुकको राजनीतिक मामला त्यहाँका जनताले नै चुन्न पाउनुपर्ने धारणा पेश गरेको थियो ।
यसलाई अमेरिकाले दाहालकै विज्ञप्तीमा भाषागत सुधार रहेको भन्दै नेपाल सरकारसँग नै अमेरिका सशंकित बनिरहेको बेलामा राजदूत कूटनीतिक निमन्त्रणामा नआउनुलाई गम्भीरताका साथ हेरिएको हो ।
यद्यपि अमेरिकी दूतावासका एक अधिकारीका अनुसार सरकारले बोलाएको कार्यक्रम भन्दा पहिले नै राजदूतको विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटको समय तय भईसकेको थियो । त्यसैले उनी आफ्नो पूर्व निर्धारित कार्यक्रम छाडेर प्रधानमन्त्रीको कार्यालयमा जान चाहेनन् । यही पूर्व निर्धारित कार्यक्रम रहेकोले राजदूत सो कार्यक्रममा नगएको ती अधिकारीले जानकारी दिए ।
नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिनको लागि भन्दै लन्च मिटिङ डाकेको थियो । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी समेत गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता थियो ।
“गत वर्ष विदेशसँगको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध कस्तो भएको थियो त्यसबारेमा मन्त्री ज्ञवालीले जानकारी गराए”, डा भट्टराईले भने, “यसभन्दा अगाडि परराष्ट्रमन्त्रीले कूटनीतिका सम्बन्धमा गराएको जानकारीका बारेमा समेत छलफल भयो ।”
उनका अनुसार नेपालको आन्तरिक नीति, तिनमा अन्तर्राष्ट्रिय समुदायको प्रभाव र आन्तरिक नीतिले बाह्य सम्बन्धमा पारेका असरबारेमा मन्त्री ज्ञवालीले जानकारी दिए।
सो अवसरमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले नेपालमा लगानी गर्नका लागि आवश्यक कानूनी विषयमा समेत चासो राखिएको बताइएको छ । लगानी सम्मेलनबारे कूटनीतिक नियोगले राखेका प्रश्नको जवाफ अर्थमन्त्री डा युवराज खतिवडाले दिएका थिए ।
सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । गोरखा भूकम्पपछि विसं २०७२ असारमा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो । विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगतिसमेत भएको बताउनुभएको डा भट्टराईले बताए ।