शहीद हरिप्रसाद गुरुङ जसले राजा महेन्द्रको ‘कू’ लाई च्यालेन्ज दिएर डेढ महिनासम्म चितवन कब्जामा लिए
राजा महेन्द्रको सेनाले हरिप्रसादलाई खाल्डो खनेर ज्यूँदै पुरेको थियो
प्रकाशित २०७५ माघ १८ शुक्रबार
404
Shares
काठमाडौं । मुलुकमा प्रजातन्त्र अपहरण गरेका तानाशाह विरुद्ध जाइलागेका शहीद हरिप्रसाद गुरुङको स्मृति दिवस शुक्रबार (माघ १८ गते) मनाइएको छ । तत्कालीन शासकहरुले यसै दिन अत्यन्तै अमानवीय क्रुर ढंङ्गले हत्या गरेको दिनलाई सम्झंदै शहीद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानले पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शहीदको बलिदानले नै आजको पुस्ताले स्वतन्त्रता उपभोग गर्न पाईरहेको प्रष्ट पारे ।
को हुन् शहीद हरिप्रसाद गुरुङ
नेपाली काँग्रेसका महासमिति सदस्य राजबहादुर गुरुङका अनुसार हरिप्रसादलाई तत्कालीन राजा महेन्द्रको तानाशाही पञ्चायती सरकारले २०१७ साल माघ १८ गते अमानवीय तरिकाले मारेको थियो ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरेपछि काँग्रेस एकाएक आक्रामक भयो । चितवनमा काँग्रेसले ठूलै हल्लीखल्ली मच्यायो ।
उनै हरिप्रसादको नेतृत्वमा चितवन जनकाँग्रेसले आन्दोलनको हुण्डरी उठायो । उनले सबै सरकारी कार्यालय खाली गराएका थिए ।
काँग्रेसले चितवन नै कब्जामा लिएको थियो । सरकारले केही गर्न सकेन । सेनाको हेलिकोप्टर पनि ल्यान्ड गर्न सकेन ।
२०१७ मााघ १८ गते भने सेना पैदलमार्ग हुँदै काठमाडौंबाट गएर ठूलो खाल्डो खनेर ज्यूँदै रातभरि त्यही खाल्डोमा हरिप्रसादलाई राखेर ज्यूँदै पुरेको थियो ।
उनकै स्मृतिमा माघ १८ गते उनलाई सम्झना गर्दै आइएको छ । नेपाल सरकारले हरिप्रसादलाई शहीद घोषणा गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा हरिप्रसादलाई शहीद घोषणा गरिएको हो ।