काठमाडौं । ३ दिन पहिले सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेरै छोड्ने दाबी गरेका छन् । सशस्त्र प्रहरीको १८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने बताउँदै प्रधानमन्त्रीले भने, ‘म आफू पनि भ्रष्टाचार गर्दिन, कसैलाई गर्न पनि दिन्न। भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिन ।’
सोही सम्बोधनको क्रममा उनले दिएको अर्को गफको विषय हो मितव्ययीताको । सरकारका मन्त्रीहरु नै दोहोरो सुविधा, फजुल खर्च जस्ता भ्रष्टाचारजन्य गतिविधिमा फसेको समाचार आईरहँदा प्रधानमन्त्री ओलीले मितव्ययीताको मीठो भाषण दिए । गफ दिने बेलामा हो जस्तै बनाउने कला भएका ओलीको भाषण सुनेर धेरै मख्ख परे । तर, उनको त्यो प्रतिवद्धता हावादारी मात्रै हो भन्ने कुरा भोलिपल्टै उनले देखाएको रवाफिलो सवारीले देखाएको छ ।
विहीबारको रात्रिकालीन उडान मार्फत् राजधानी फर्किनको लागि प्रधानमन्त्री केपी ओली झापा गएका थिए । उनको झापामा भएको सवारीको लावालस्करलाई स्थानीय प्रमोद खरेलले भिडियो खिचेका थिए । उनको सो सवारीमा कूल ३९ वटा गाडीहरु प्रयोग गरिएको भिडियोमा स्पष्ट देखिएको छ ।
प्रधानमन्त्रीको सवारी हुने समयमा सो सडकमा अन्य सवारीसाधनहरु सञ्चालन गर्नै दिईएको थिएन । आफ्नै गृहजिल्ला पुग्दा तुजुक देखाएर आफ्नै जनतालाई सास्ती दिने प्रधानमन्त्री ओलीले मितव्ययीताको नारा गफमा मात्रै सीमित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापा सदरमुकाममा रहेको भद्रपुर विमानस्थलमा राात्रिकालीन हवाइ उडान सेवा सुरु गरेका छन्। बिहीबार साँझ सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली ७:२२ बजे यति एयरलाइन्सको विमानबाट काठमाडौं फर्किए। सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलो पटक भद्रपुर विमानस्थलबाट रात्रिकालीन हवाइ उडानमार्फत काठमाडौं फर्किएका छन्।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि रहेका छन्। नेपाल नागरिक उड्डयन कार्यालयले चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा इन्स्टुमेन्टल फ्लाइट रुल्स ९आइएफआर० मार्फत भद्रपुर विमानस्थलान जडान गरेको रात्रिकालीन हवाइ उडान सेवा सुरु गरिएको हो।