arrow

केसीको समर्थकमा चिकित्सक संघले १८ गते स्वास्थ्य संस्था बन्द गर्ने

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
hadtal1.JPG

काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा १८ गते देशभरका स्वास्थ्य संस्था बन्द गर्ने भएको छ ।  चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बिहिबार विज्ञप्ति जारी गर्दै माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।


विज्ञप्ति

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षार्थ नेपाल चिकित्सक संघले देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा संचालन गरेको रिलेअनसन लगायतका कार्यक्रमलाई बेवास्ता गरिएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।

सत्याग्रहको २३ औं दिन भईसक्दा समेत नेपाल सरकारले डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पनि चासो व्यक्त नगर्नु, हाम्रो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पु-याउने  कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।

डा. के.सी.को स्वास्थ्यमा गम्भिर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्क्रिय कदमप्रति हामी मर्माहित भएका   छौं । आम सर्व साधारण नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्राहीका सम्बन्धमा सरकार मौन रहनु र डा. के.सी.को जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले नेपाल चिकित्सक संघले मिति २०७५ माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

साथै डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ती संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथी उठेर मानवीय संवेदनशिलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुले पूर्ण रुपमा कार्यन्वयन गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।

आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरुमा पर्न सक्ने असुविधाप्रति नेपाल चिकित्सक संघ दुःख व्यक्त गर्दै यो भन्दा पनि कडा कदमहरु चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको  जिम्मेवार नेपाल सरकार नै हुनेछ ।  

डा. लोचन कार्की
महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ