काठमाडौं । सरकारको आश छुटेपछि डा गोविन्द केसी समर्थकहरुले नागरिक गुहारेका छन् । सोलिडारिटी फर डा केसी अलायन्सले बिहिबार एक विज्ञप्ति जारी गर्दै माघ १९ गते शनिवार दिनको १२ बजे माइतीघर मण्डला लगायत देशभरका शहरका विभिन्न चोकहरुमा हुने प्रदर्शनहरुमा सहभागी हुन अपिल गरेको छ।
अलायन्सले नागरिकहरुलाई यस विशेष घडीमा डा केसीको जीवन रक्षा तथा उनले बोकेका जनमुखी एजेण्डाको जीतका लागि थप सक्रिय र रचनात्मक भुमिकासहित योगदान पुर्याउन आवहान गरेको छ। विज्ञप्तिमा भनिएको छ 'सम्पूर्ण पेशागत संगठनहरु तथा नागरिक अभियन्ताहरुलाई आआफ्नो ठाउँबाट यस सुधार र सुशासन अभियानमा अझ बलियो सहभागितासहित लाग्न हार्दिक अनुरोध गर्दर्छौं।'
सोलिडारिटी फर डा केसी अलायन्सका जीवन क्षेत्री र सुमन आचार्यद्वारा जारी विज्ञप्तिमा, 'चिकित्सा शिक्षा सुधार तथा सुशासन अभियान अहिले विशेष मोडमा आइपुगेको छ। डा गोविन्द केसीको सोह्रौं सत्याग्रहको आज २३ औं दिनको दिन १५ औं सत्याग्रहताका सरकारसँग भएको सहमतिको मर्मविपरीत चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ।
यसले हामीलाई राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ। चिकित्सा शिक्षा सुधारको यस अभियानलाई सार्थक निश्कर्षमा पुर्याउन यस सत्याग्रहलाई थप ऊर्जासहित निरन्तरता दिनुको विकल्प छैन। व्यक्तिको स्वार्थमा कानुन नै निर्माण गर्नेजस्तो नीतिगत भ्रष्टाचार देशमा संस्थागत हुनु तथा सत्तारुढ दलको सम्पुर्ण तागत त्यही भ्रष्ट कार्यमा लाग्नुले उनीहरुको नियत र चरित्र उदांगो पारेको छ। संसदीय सर्वोच्चताको प्राविधिकतामा टेकेर नागरिक सार्वभौमसत्ता उल्लंघन गर्ने यस्तो कदम लोकतन्त्रका लागि डरलाग्दो लक्षण हो।
यो अवस्थामा नागरिक सार्वभौमसत्ता पुनः कायम गर्न माफियाको संरक्षक राजनीतिक नेतृत्व वर्गको अधिनायकवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुको विकल्प छैन। स्मरण रहोस्, यस अगाडि देशको लोकतान्त्रिक व्यवस्था तथा प्रेस स्वतन्त्रता खतरामा परेको तथा त्यसविरुद्ध राजनीतिक दलहरु किंकर्तव्यविमुढ भएको अवस्थामा नागरिक अभियानकै बलमा अदुअआ र न्यायालयजस्ता संवैधानिक अंगहरुमा समेत गलत प्रवृत्तिलाई परास्त गरेको' उल्लेख छ।