काठमाडौं । २३ दिनदेखि आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनसनस्थल जाने भएका छन् । सभापति देउवा बिहिबार दिउँसो ४ बजे डा केसीलाई भेट्न टिचिङ अस्पताल जाने कार्यक्रम रहेको जनाइएको छ । केसी पुस २५ देखि आमरण अनसनमा छन् ।
सरकारले अहिलेसम्म अनसनबारे बोलेकै छैन । डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गइन् । उनले डा केसीका सबै माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरिन् ।
उनले डा केसीका माग तीन करोड जनताका भएकाले डा केसीलाई तलमाथि केही हुनासाथ तीन करोड नेपाली नै आन्दोलित हुने बताइन् । राजनीतिक जे भए पनि कोही पनि डा केसीलाई गलत भन्न नसक्ने पूर्वप्रधानन्यायाधीश कार्कीको दाबी छ ।
मंगलबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ डा केसीलाई भेट्न अनसनस्थल गएका थिए । उनले मन्तब्यमा डा केसीलाई बचाउनु पर्ने र उनका माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबार पनि संसद नै अवरोध गरेको छ । त्यस्तै काँग्रेसका भ्रातृ संगठनहरु निरन्तर सडकमा छन् ।