पुराना नेता उपाध्यायको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
प्रकाशित २०७५ माघ १६ बुधबार
525
Shares
काठमाडौँ । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवं पर्साका पुराना नेता श्रीराम उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्तिमार्फत उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
प्रजातन्त्र सेनानी उपाध्यायको ९१ वर्षको उमेरमा यही माघ १४ गते विरगञ्ज स्थित आफ्नै निवासमा निधन भएको हो । कांग्रेसले स्व उपाध्यायले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ ।
विसं २००७ कात्तिक २६-२७ गते मध्यरातमा कांग्रेसले वीरगञ्जमा आक्रमण गरी सशस्त्र संघर्षको शुरुआत गरेको थियो । थीरबम मल्लको नेतृत्वमा रहेको मुक्ति सेनामा उपाध्याय पनि सहभागी रहेको कांग्रेसले जनाएको छ ।