arrow

गोयबल्स शैलीमा योगेश भट्टराई

गगन र गोविन्द केसी विरूद्ध के के गर्दैछ भट्टराईको प्रतिकार संयन्त्रले ?

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
yogesh-bhattrai.png

काठमाडौं । कम्युनिष्टहरु मिलेर गठन भएको दुई तिहाईको केपी ओली नेतृत्वको सरकार एक वर्ष पुग्नै लाग्दा समेत विवादित बाहेक अरु काम गर्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आवाज उठाउन थालिसकेको थियो । सुरुवाती समयमा प्रतिपक्षी धर्म निर्वाह गरेर सरकारको विरोध नगरेको काँग्रेसले सरकारको जनविरोधी कृत्यहरु बढ्दै गएपछि विस्तारै आलोचनात्मक रुपमा प्रस्तुत हुन थालिसकेको थियो ।

प्रतिपक्षीको विरोध नहुन्ज्याल मनलाग्दी रुपमा सत्ताको स्वाद लिन सफल भएका प्रधानमन्त्री केपी ओलीको छटपटी पौष १ गतेको एक कार्यक्रममा छताछुल्ल पोखिएको थियो । उनले विपक्षीसँग अरिंगाल जसरी प्रस्तुत हुन सार्वजनिक कार्यक्रमबाट आफ्ना कार्यकर्ताहरुलाई निर्देशन नै दिएपछि उनको यो छटपटीबारे धेरैले जानकारी लिने मौका पाए ।

त्यसो त उनले साउनमा नै प्रधानन्यायाधीशमा सिफारिस गरेका दिपकराज जोशीलाई संसदीय सुनुवाई समितिले फिर्ता गरेको समयमा धेरै आलोचना हुन थालेपछि आफ्नो संयन्त्र परिचालन गरी त्यसलाई थुम्थुम्याउने प्रयास नगरेका होईनन् । त्यतिबेला उनले प्रचार विभाग प्रमुख समेत रहेका नेता योगेश भट्टराईलाई प्रचार संयन्त्रको जिम्मा दिएका थिए। मन्त्री भएर विवादमा नपरेका र सांसद समेत रहेका भट्टराईलाई सरकारको प्रतिरक्षाको गर्ने जिम्मेवारी परीक्षाको रुपमा दिइएको थियो।

बाहिर केपीसँग दूरी रहेको देखाउने नेता भट्टराई पार्टी तथा सरकारको नेतृत्वबाट केही नपाएपनि सरकारको बचाउ र प्रतिपक्षीको आलोचनामा पूरै पार्टी संयन्त्रको साथमा यतिबेला आक्रामक ढंगले उत्रिएका छन्। मन्त्री हुने हैसियत भएपनि मन्त्री नबनाइएका पटक पटक पेलिएका उनले पार्टी नेतृत्वलाई खुशी बनाएरै अवसर लिने उपाय निकालेका छन् । तत्कालीन नेकपा एमालेमा लामो समय प्रचार विभागमा रहेर काम गरेको अनुभवको आधारमा उनले अहिले अनौपचारिक रुपमा प्रतिपक्षी नेतृत्व र नेताहरुका साथै पार्टी विरोधी कित्ताका सबैलाई ठेगान लगाउन संयन्त्र नै खडा गरेका छन् ।

पञ्चायती व्यवस्थाको प्रतिकार समिति जस्तो भट्टराईको संयन्त्र अहिले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यम मार्फत् प्रकट हुन थालेको छ । यस्तो प्रतिकार संयन्त्रमा भट्टराईले तत्कालीन एमाले र हालको नेकपाका खास खास मानिसहरुलाई क्षमता अनुसारको काममा जिम्मा समेत लगाएका छन् । फरक विचार र आस्था राख्ने नेताहरु तथा व्यक्तिहरुलाई जति बढी तेजोवध गर्दै खुइल्याउन सक्यो त्यत्ति बढी स्याबासी र संगठनमा जिम्मेवारी बढ्ने भएपछि अहिले नेकपाका कार्यकर्ताहरु गोयबल्स शैलीको प्रचारमा उत्रिएका छन् ।

गोयबल्स उनै तानाशाह हिटलरका प्रचार मन्त्री थिए जसले एउटा असत्यलाई सय पटक प्रचार गरेर सत्य जस्तो बनाउने प्रयास गर्दथे । नेकपाका कार्यकर्ताहरु अहिले उनी गोयबल्सका नयाँ अवतारका रुपमा प्रकट भएका छन् । जसले सत्यको सहारा भन्दा एउटा असत्यलाई सय पटक प्रचार गरी सत्य बनाउने प्रयास गरिरहेका छन् । आक्रामक स्वरुप र प्रतिरक्षाको नाममा भट्टराईको स्कूलिङमा हुर्किएका नेकपाका कार्यकर्ताहरु आफ्ना विचार प्रस्तुत गरेर भन्दा पनि झुट र असत्यलाई बारम्बार दोहोर्याएर सही बनाउने खेलमा लागेका छन् । त्यति मात्रै नभएर उनी आफू अनर्गल प्रचारका लागि प्रखर रहेको प्रमाणित गर्नको लागि सामाजिक सञ्चालमा अरुको चरित्र हत्या हुनेगरी तस्वीरलाई तोडमोड गरेर प्रचार गर्न समेत सुरु गरेका छन् ।

Image may contain: 8 people, people smiling, people sitting, text and indoor

चिकित्सा शिक्षा विधेयकको विरुद्धमा १६ औं अनसनको सुरुदेखि नै डा. गोविन्द केसीको विरुद्धमा भट्टराई समूह आक्रामक रुपमा लाग्यो । उनले विधेयकमा नलेखिएका कुरा धेरै बोले भने गोविन्द केसीका पूरा नभएको माग पूरा भएको भन्ने कपोलकल्पित कुरा समेत सार्वजनिक रुपमा नै बारम्बार बोल्दै हिँडे । त्यतिले मात्रै नभएर सभामुखले संसदमा बोल्ने अभिव्यक्ति र गर्ने कामलाई समेत अघिल्लै दिन खुल्ला मञ्चबाट सार्वजनिक गर्न थाले ।

त्यसो त उनको कुप्रचारको प्रमाण उनकै ३/४ वटा भाषणलाई दाज्ने हो भने त्यहिँबाट निस्कन्छ । गोविन्द केसीकै सवालमा भन्ने हो भने उनी कहिले डा. केसीका सबै मागहरु अक्षरशः पालना भएको हौवा पिट्दै हिँड्छन् भने कुनै समय उनी आफैं ९५ प्रतिशत मात्रै माग पूरा भएको स्वीकार गर्छन् । यसले पनि उनी आफू सहि बोलिरहेका छैनन् भन्ने कुरा स्पष्ट हुन्छ ।

सत्याग्रहीको छवि धुमिल बनाउन अपराधीको साहारा
डा. गोविन्द केसीले सरकार विरुद्ध आमरण अनसन बस्ने तय भएपछि भट्टराईले पनि एउटा डमि पात्र खडा गरेर अनसन बस्न लगाए । डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दा उनले जनताको स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्ने माग राखेका थिए । यसको उद्देश्य थियो डा. केसीको पक्षमा रहेका समर्थकहरुको मत खण्डित होस् र डा. केसी अन्ततः पछि हट्न बाध्य बनुन् । तर, उनले सोचेजस्तो भएन ।

उनले गलतलाई सहि भनेको कुरामा नेपाली सञ्चारमाध्यमले पत्याउन सकेनन् । खोज्दैजाँदा अनसनमा बसेका विजय थापा आपराधिक पृष्ठभूमिको रहेको कुरा बाहिर आयो । यसले पनि भट्टराईको डा. केसीको एजेण्डालाई धुमिल बनाउने खेल बीचैमा तुहियो । डा. केसीलाई ल्याईएकै हेलिकप्टरमा काठमाडौं ल्याएपछि थापा सरकारी एजेण्डा पूरा गर्नको लागि अनसनमा बसेको भन्ने कुरा पुष्टि भयो ।

Image may contain: 1 person, smiling

सामाजिक सञ्जालमा आलोचकको चरित्रहत्या
योगेशले सरकार तथा नेकपाले उठाएका एजेण्डा विरुद्ध आक्रामक रुपमा रहेका केही व्यक्तिलाई अनेकानेक तरहले सिध्याउने प्रयत्नमा लागेका छन् । अहिले सरकारको मुख्य प्रतिपक्षको रुपमा सामाजिक अभियान्ताको रुपमा रहेका डा. गोविन्द केसी र काँग्रेसबाट सरकारको खरो विरोध गर्नेमा नेता गगन थापा रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा योगेशमार्फत् उनका प्रतिकार संयन्त्र केसी थापा लगायतका व्यक्तिहरुको नै चरित्र हत्या गर्ने काममा सक्रिय भएको छ ।

बाहिर देखिँदा कार्यकर्ताहरु सक्रिय भएका छन् भने यसको योजना र नेतृत्व भने योगेशले नै गर्ने गरेको नेकपाको प्रचार संयन्त्रलाई नजिकबाट नियालीरहेका एक नेता बताउँछन् । पछिल्लो समय काँग्रेस नेता गगन थापा, प्रदीप पौडेल, कुन्दन काफ्ले लगायतका नेताहरु गुरु पूर्णिमाको अवसरमा बसेर कफी पिउँदै गरेको तस्वीरमा वियरको बोतलसँगै डा केसीको समेत तस्विरलाई फोटोसपमार्फत थपेर गरिएको भ्रामक प्रचारले पनि उनको प्रतिकार संयन्त्र कुन हदसम्म तल्लो स्तरमा झर्न सक्छ भन्ने कुरा देखाएको छ ।

Image may contain: 7 people, people smiling, people sitting

भट्टराई नेतृत्वको यस्तो संयन्त्रमा युवासंघ अनेरास्ववियु र प्रेस चौतारीका नेतृत्व तह पूरै सक्रिय रहेको छ । जसले सरकारबाट लाभ समेत लिने गरेका छन् । जसको व्यवस्थापन भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले गर्ने गरेको नेकपाका नेताहरु बताउँछन् । सामाजिक सञ्जालमा गरिएका यस्ता कुप्रचारहरु विद्युतीय अपराध मानिन्छन् । तर, यस्तो विद्युतीय अपराधमा संलग्नलाई सरकारमा रहेका दलका नेताहरुले नै कारबाही गर्नुको साँटो बढावा दिइरहेका छन् ।

Image may contain: 1 person, smiling, sitting and indoor

Image may contain: text

युवा संघका केन्द्रीय सदस्य बताउने सुदर्शन बजगाईंको जसले कफी खाएको फोटोलाई फोटोसप मार्फत वियरको बोतल बनाएका थिए । यिनै बजगाईं प्रधानमन्त्री केपी ओलीलाई बालबालिकासँग अन्तर्क्रिया गराउने स्काउटको एक कार्यक्रमका हर्ताकर्ता थिए । प्रधानमन्त्रीसँग यति निकटता देखाउने बजगाईंको यो हर्कत कम्तिमा भट्टराईको जानकारी विना हुन सम्भव थिएन । सरकारबाट नै निर्देशित र प्रशिक्षितहरुले गरेको यस्ता काममा कारबाही गर्ने हिम्मत कुनैपनि सरोकारवाला निकायले गर्न सकेको छैन ।  

सरकारी र निजी आमसञ्चारमाध्यमको दुरुपयोग
सरकारी सञ्चारमाध्यमहरु सरकारप्रति उत्तरदायी हुने प्रचलन पहिलेदेखि नै चल्दै आएको हो । तर, सरकारी सञ्चारमाध्यमहरुलाई नेकपाको मुखपत्रको रुपमा विकास गर्ने काम पनि पछिल्लो समय भएको देखिएको छ । सोमबार मात्रै गोरखापत्र दैनिकमा डा. गोविन्द केसीको पक्षमा पहिले जस्तो समर्थन नभएको व्यहोराको समाचार आयो । त्यसमा लेखिएका समाचारहरु एउटा पार्टीको मुखपत्रमा लेखिएका समाचार जस्तै थिए । त्यसबाहेकका केही अनलाईनहरुमा लेखिएका समाचारहरु पनि सरकारप्रति आलोचना गर्ने व्यक्तिहरुको चरित्रहत्यामा केन्द्रीत थियो ।

सरकार नियन्त्रित सञ्चार माध्यममा मात्रै नभइ निजी क्षेत्रका अग्रणी सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरुसँग समेत अलग अलग भेटी भट्टराईले घुमाउरो तरिकाले डा केसी र उनको समर्थनमा उभिएकाहरुको पक्षमा नलाग्न चेतावनी दिएका छन् । यस पटक अग्रणी सञ्चार माध्यमका सम्पादकहरुको केसीलाई सामुहिक ‌ऐक्यवद्धता जनाउन ढिलाई हुनुमा समेत भट्टराईको सो भेटलाई कारण देखाउने गरिएको छ । आखिर पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेका कृत्यहरुलाई छोप्नको लागि योगेश भट्टराईले देखाएको यो चरित्रले उनको कुनैसमय युवा नेताको रुपमा देखिएको राम्रो छवि समेत धुमिल भएको छ ।

Image may contain: 4 people, text

आखिर किन उतारे भट्टराईले प्रतिकार संयन्त्र ?
पटक पटक काठमाडौंबाट सांसद बन्ने प्रयास गरेपनि सांसद हुन नसकेका भट्टराई आखिर ताप्लेजुङ पुगेरै सांसद बने । बल्लतल्ल सांसद बनेपछि पनि केपी ओलीले नरुचाएका कारण मन्त्री बन्न नसकेका भट्टराई आफूसँगै र आफूभन्दा कनिष्टहरु मन्त्री भएको हरेर मात्रै बस्न बाध्य भए । केपी ओलीको सचिवालयमा आफ्नो खास आलोचक विष्णु रिमाल हर्ताकर्ता भएपछि उनको मन्त्री बन्ने अवसर गुमेको थियो । ओलीले विश्वास गरेर मन्त्री बनेकाहरु एक पछि अर्को विवादमा फस्ने भ्रष्टाचारमा मुछिने र राजीनामा समेत दिनुपर्ने अवस्थामा पुगेपछि सरकार मन्त्रीका कारणले समेत प्रतिरक्षात्मक बनेको थियो । यो अवस्थामा खासै आर्थिक मामलामा विवादमा नपरेका र सार्वजनिक छवि नविग्रिइसकेका भट्टराईलाई ओली र प्रचण्ड दुबैलाई प्रयोग गर्न चाहेका थिए । अवसरप्रति उनको आशक्तिलाई बुझेका नेताहरुले भट्टराई यतिसम्म प्रयोग हुनसक्छन् भन्ने अनुमान पहिले गरेका थिए । जसले भट्टराईलाई भने आशलाग्दा नेताबाट अवसरवादी नेतामा रुपान्तरण गर्दिएको छ । 

प्रधानन्यायाधीस नियुक्ति प्रकरणमा आफूलाई सावित गरेर पार्टी नेतृत्वबाट स्याबासी पाएका भट्टराईलाई नेताहरुले फेरि एक पटक डा केसी प्रकरणमा प्रयोग गर्न चाहेका थिए । नभन्दै उनले पनि आफूलाई पार्टी नेतृत्वको अगाडि कुप्रचारमा र भ्रमको खेती मार्फत् अब्बल सावित गर्ने प्रयास जारी राखेका छन् । यही शिलशिलामा कहिले सरकारको सरदर्द बनेका केसीका विरुद्ध अनेक आरोपको चाङ लगाउँछन् भने गगन थापा लगायतका नेताहरुको विरुद्ध आफ्ना कनिष्ठ कार्यकर्ताहरुलाई वीष बमन गराउन लगाउँछन् । अखिलका ऐन महर हुन् अथवा प्रेस चौतारीका नेताहरू नै किन नहुन् गोयबल्स शैलीमा झुटको खेती गर्न लागि रहेका छन् । अरुलाई होचो देखाउन आफू अग्लो बन्नु पर्ने सामान्य सिद्धान्त समेत विर्सिएर उनीहरु अरुको खुट्टा काट्न उद्दत रहेका छन् । जुन कुरा समय क्रममा उदांङ्गिँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ