ट्रिपरले 'ब्याक' गरेर मार्यो बालिका : स्थानीयले जलाए ९ ट्रिपर, कर्फ्यू जारी
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ १४ सोमबार
245
Shares
मोरङ । सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना३ख ३३५५ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकि सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिदाँ मृत्यु भएसँगै बिराटनगर तनाबग्रस्त बनेको छ । ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिलेसम्म ९ वटा ट्रिपर जलाइसकेका छन ।
दुर्घटनापछि आक्रोसित स्थानीय वासिन्दाले ठक्कर दिने ट्रिपरका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन ट्रिपरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । विराटचौकको घटनालाई लिएर मोरङ प्रशासनद्वारा निषेधाज्ञा जारी गरेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा ट्रिपरको ठक्करबाट सोमवार एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय वासिन्दाले ट्रिपर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन ।
बालिका लाई सामान्य ठक्कर लागेर सडकको किनारामा लडेको अबस्थामा ट्रिपरपछि सारेर बालिका लाई किच्याएर ट्रिपर भागेको र ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए । ठक्कर दिने ट्रिपरका चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेर नस्ट भएको बेलवारि प्रहरीले जानकारी दिएको छ ।घटना स्थल कर्फ्युका बाबजुद ठूलो संख्यामा स्थानिय हरुको उपस्थिती रहेको छ ।